आज बाँकेमा उपचाररत थप ५ जना कोरोना संक्रमणबाट मृत्यु !


 

बाँकेमा उपचाररत थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ जना बाँकेका र १ जना बर्दियाका छन् । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–१४ की ३८ वर्षीया महिलाको शनिबार बिहान पौने ७ बजे भेरी अस्पतालमा मृत्यु भएको छ । भारतको लखिमपुरमा वैशाख १४ गते परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएपछि उनी त्यसको पर्सिपल्ट भेरी अस्पतालमा भर्ना भएकी थिइन् ।

यसैगरी नेपालगञ्ज उपमहानगरपालिका–१० की ३८ वर्षकै अर्की महिलाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा आज बिहान साढे ४ बजे मृत्यु भएको छ । यस्तै नेपालगञ्ज उपमहानगरपालिका–१ बाँकेका ६४ वर्षीय पुरुषको बेलुकी आठ बजे र नेपालगञ्ज उपमहानगरपालिका १२ बाँकेका ६७ वर्षीय पुरुषको शुक्रबार अपराह्न पौने ५ बजे भेरी अस्पतालमा मृत्यु भएको छ । यसैगरी बर्दियाको बढैयाताल–७ घर भएका ५२ वर्षीय पुरुषको शुक्रबार साँझ सात बजे भेरी अस्पतालमा मृत्यु भएको ओलीले बताएका छ्न ।

 

योसँगै बाँके जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १७४ पुगेको छ । बाँकेभन्दा बाहिर जिल्लाका तर बाँकेमा ज्यान गुमाउनेको संख्या भने १३१ पुगेको छ ।