लुम्बिनी अस्पतालमा थप ५ जना कोरोना संक्रमितको मृत्यु !


लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत थप ५ कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा चार जना रुपन्देहीका १ जना पाल्पाका हुन् । कोरोना विशेष अस्पतालमा आईसीयू बेड पर्खेर बसेका उनीहरुको इमर्जेन्सीमै ज्यान गएको हो । मंगलबार इमर्जेन्सीमा भर्ना भएका तानसेन–१४ का ३८ वर्षीय पुरुषको मंगलबार राती ११ बजे, सैनामैना ७ रुपन्देहीका ३६ वर्षीय पुरुषको मंगरलबार साँझ ६:३५ बजे र वैशाख २६ गते देखि इमर्जेन्सीमा रहेका बुटवल–११ का ५२ वर्षीय पुरुषको मंगलबार साँझ ५:३३ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताएका छन् ।

 

यस्तै मंगलबार नै भर्ना भएकी तिलोत्तमा–६ की ७० वर्षीया महिलाको बुधबार बिहान ७:५२ बजे र वैशाख २४ देखि ईमर्जेन्सीमा रहेका तिलोत्तमा १ का ५७ वर्षीय पुरुषको पनि बुधबार बिहान ५:५२ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता गौतमले जनाएका छन् । यस्तै बुटवल-६ का ४४ वर्षीय पुरुषको बुटवल धागो कारखानाको कोभिड अस्पतालको एचडीयूमा मंगलबार साँझ ७ बजे मृत्यु भएको उनले बताएका छन् ।

डा. गौतमले संक्रमितको चाप बढेपछि अस्पतालमा आईसीयू र एचडीयू दुवै थरी बेड भरिभराउ भएकाले अक्सिजन नभइ नहुने संक्रमितलाई घर पठाउन पनि नमिल्ने र बेड दिन पनि नसकिने अवस्था रहेको गुनासो गरे । योसँगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या २९९ पुगेको छ ।