माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सीसीएमसीको निर्णय


कोभिड-१९ संक्रमण रोकथामका लागि भन्दै आज बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

सीसीएमसी प्रवक्ता सुनिता नेपालले यस्तो जानकारी दिएकी हुन् । भोलिदेखि नै लागू हुने गरी शैक्षिक संस्थाबारे यस्तो निर्णय गरेको जानकारी उनले दिइन् ।अर्को सूचना जारी नभएसम्म सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला महोत्सव नगराउने गरी भीड रोक्नसमेत गृह मन्त्रालयलाई सिफारिस गर्ने निर्णय भएको समेत उनले जनाइन् ।

माघ ३ गतेदेखि सार्वजनिक स्थानहरु पार्क, फिल्म हल, रेष्टुरेन्ट र सपिङको लागि मलमा जाने व्यक्तिले अनिवार्य खोप कार्ड देखाउनुपर्ने भएको छ । सीमानाकामा कोभिड परीक्षणलाई व्यापक तुल्याउने, खोप लगाउन छुटेका बालबालिकालाई खोपको दायरामा ल्याउने निर्णय पनि बैठकले गरेको छ ।