धनकुटामा श्रीमतीको हत्या गरी घरभित्रै गाडेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ।
धनकुटा नगरपालिका-४ छारागाउँकी ५२ वर्षीया सीता श्रेष्ठको हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए। उनका अनुसार सीता पुस १६ गतेदेखि बेपत्ता थिइन्। घरायसी विवाद भएपछि उनी घरबाट बेपत्ता भएको भन्ने जानकारी प्रहरीलाई आएको थियो।
त्यसकै केही दिनपछि पुस १९ गते उनका श्रीमान ५२ वर्षीय सीताराम भन्ने सीताकुमार श्रेष्ठ पनि बेपत्ता भएका थिए। यसरी दुबै बेपत्ता भएपछि भदाहा नाता पर्नेले प्रहरीमा हुलियासहितको उजुरी दिएका थिए। ‘श्रीमान पनि घर छाडेर हिँडेपछि हामीलाई शंका लाग्यो,’ प्रहरी नायब उपरीक्षक कार्कीले भने, ‘भदाहाले हराउनुभयो भनेर खोजिदिन भनेर निवेदन हाल्नुभयो।’
त्यसपछि प्रहरीले पुस २३ गते कुकुरसहितको टोलीले अनुसन्धान गरेको थियो। ‘डग स्नाइपिङ’ गराउँदा पनि प्रहरीले केही फेला पारेन। त्यसपछि प्रहरीले श्रीमानमाथि शंका गरेर अनुसन्धान अघि बढाएको थियो। खोज्ने क्रममा उनलाई प्रहरीले आइतबार ललितपुरको बाँडेगाउँमा फेला पारेको हो। उनलाई प्रहरीले नियन्त्रणमा लिई धनकुटा लगिएको थियो।
उनीमाथि सोधपुछ गर्दा आफैंले श्रीमतीको हत्या गरेकोबारे खोलेका हुन्। उनले आफ्नी श्रीमतीको हत्या गरी घरकै भुइँ तलामा गाडेको बयान दिएका थिए। त्यसैको आधारमा प्रहरीले उनको शव फेला पारेको हो। श्रीमती सीताको शव सडेर गलिसकेको अवस्थामा प्रहरीले फेला पारेको हो। सीतारामले श्रीमती सीतामाथि कुटपिट गर्दा ज्यान गएको र घरमै गाडिदिएको बयान दिएका छन्। ‘श्रीमतीले रक्सी पनि खान्थिन्। घरायसी झगडा पनि भएको थियो। मैले कुटपिट गर्दा उनको मृत्यु भयो अनि घरमै गाडेको भनेका छन्,’ उनले भने। प्रहरीले थप अनुसन्धान अघि बढाएको बताएको छ।














प्रतिक्रिया