पशुपति क्षेत्रमा अतिक्रमित टहरा हटाउन मन्त्री आलेको ठाडो आदेश ….(भिडियो सहित)


पछिल्लो समयका निकै चर्चित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले गुहेश्वरी क्षेत्रमा अतिक्रमण गरेर निर्माण भएका टहरा १५ दिनभित्र हटाउन ठाडो निर्देशन दिएका छन्। आइतबार ४ घण्टा पशुपति क्षेत्रको स्थलगत अनुगमन गर्दै मन्त्री आलेले पशुपति क्षेत्रभित्र पर्ने गुहेश्वरीमा निर्माण गरिएको टहरा १५ दिनभित्र हटाउन निर्देशन दिएका हुन्। अनुगमनका क्रममा मन्त्री आले पशुपति मन्दिर क्षेत्र, बनकाली , गुहेश्वरी लगाएतका क्षेत्रमा पुगेका थिए। सो क्रममा उनले पशुपति क्षेत्र भित्र निकै विकृति देखिएको बताए।

‘गुहेश्वरीमा थुप्रै ठाउँमा टहराहरू बनाएर कब्जा गर्ने र अतिक्रमण गर्ने काम भएको छ, यहाँ बनाइएका टहरा हटाउन निर्देशन दिएको छु, अतिक्रमण गर्न पाइँदैन,’ मन्त्री आलेले भने।

पशुपति क्षेत्र विकास कोषको यसअघिका पदाधिकारीले मनोमानी ढंगले काम गरेको भन्दै मन्त्री आलेले अब यसलाई सुधार गर्ने प्रतिवद्धता जनाए। उनले पशुपतिमा फूल, रुद्राक्ष बिक्रिका लागि छुट्टै स्थान बनाए पनि धर्मालम्वीलाई अप्ठेरो हुनेगरि सडकमा नै फूलमाला बिक्रि गरिएको पाइएकोले यसलाई पनि व्यवस्थीत गरिने बताए। ‘पशुपति क्षेत्र विकास कोषबाट अनुमोदन नै नगरी कतिपय ठाउँ र जमिन भाडामा दिइएको देखियो, यस्ता विकृति अन्त्य हुन्छ,’ उनले भने।

उनले पशुपति क्षेत्रमा निःशुल्क गाई पालनका लागि स्थान दिइएकोमा आपत्ती जनाए।मन्त्री आलेले गोठाटारमा रहेको जग्गा पनि अतिक्रमण भएकाले त्यो पनि १५ दिनभित्र हटाइने जानकारी दिए। पशुपति मन्दिर क्षेत्रमा जम्मा हुने फोहोरहरू व्यवस्थापनका लागि काम अगाडि बढाउनसमेत मन्त्री आलेले कोषका पदाधिकारीहरूलाई निर्देशन दिएका थिए । पशुपति क्षेत्र विकास कोषको हाताभित्र रहेका क्रियापुत्री बस्ने ठाउँलाई व्यवस्थित गर्नका लागि पहल भइरहेको समेत मन्त्री आलेले अनुगमनका क्रममा जानकारी दिए । क्रियापुत्री बस्ने ठाउँमा तातो, चिसो पानीको व्यवस्थापन हुने मन्त्री आलेले दाबी गरे।