नक्कली नोटको बिगबिगी भएको भन्दै प्रहरीको सर्च अप्रेसन


काठमाडौँ , २३ माघ । नेपाली बजारमा नक्कली नोटका कारोबारी धेरै भएको प्रहरीको अनुमान छ। नेपाल प्रहरीले २०७५ चैत ४ गते नक्कली नोट कारोबार गरेको आरोपमा जादुगरलाई पक्राउ गरेको थियो। प्रहरीले सोही सालको जेठ २ गते दुई करोड ६० लाख ६३ हजार रुपैयाँबराबरको नक्कली नोटसहित काठमाडौंबाट ६ जना, असोज २३ गते काठमाडौंको रत्नपार्कबाट ५ हजार रुपैयाँबराबरको नक्कली नोटसहित १ जना, असोज २६ गते रत्नपार्कबाट १० हजार रुपैयाँबराबरका नक्कली नोटसहित १ जना, कात्तिक ४ गते काठमाडौंका विभिन्न स्थानबाट ३ लाख ७० हजारबराबरको नक्कली रुपैयाँसहित ५ जना र माघ २६ गते काठमाडौंको गोगंबुबाट १ लाख ५० हजार नक्कली रुपैयाँसहित एकजनालाई पक्राउ गरेको थियो ।

त्यस्तै प्रहरीले २०७६ कात्तिक ४ गते काठमाडौंको बौद्धबाट ३४ हजार रुपैयाँबराबरको नक्कली नोट र नोट छाप्न प्रयोग गरिएको मेसिनसहित ३ जनालाई पक्राउ गरेको थियो। यसैगरी प्रहरीले २०७७ माघमा एक हजार दरका ९ वटा नक्कली नेपाली नोटसहित तीनजनालाई सुर्खेत छिञ्चुबाट पक्राउ गरेको थियो।

मुलुकका साना–ठूला बजार र सीमा क्षेत्रमा नक्कली नोटको बिगबिगी भएको भन्दै प्रहरीले सर्च अप्रेसन चलाइरहेको छ। सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोले पनि यसबारे अनुसन्धान गरिरहेको छ। सुरक्षा स्रोतका अनुसार अहिले नेपाल–भारत सीमा क्षेत्रका बजार र मुख्य सहरमा करिब २ करोड रुपैयाँबराबरका नक्कली नोट छन्।

‘भारतमै कारखाना खोलेर हजार दरका नक्कली नेपाली नोट छपाएर ल्याइएको सूचना पाएका छौं, सोही आधारमा हामीले अनुसन्धान र निगरानी गरिरहेका छौं,’ एक सुरक्षा अधिकारीले भने। ती अधिकारीका अनुसार यो धन्दामा संलग्न भारतीय र नेपालीले मिलेर नक्कली नोट बजारमा ल्याउने काम गरिरहेका छन्। प्रहरीका अनुसार गिरोहले नक्कली नोटको कारोबार कपडा पसल, तरकारी पसल, खाद्यान्न पसलमा गरेको पाइएको छ। कारोबारीले कुनै सामान खरिद गर्दा वा बिल भुक्तानी गर्दा सक्कली नोटको बीचमा नक्कली नोट मिसाएर दिने गरेका छन्।

यस्तो धन्दा गर्नेले गत तीन महिनाको अवधिमा नेपाली बजारमा करोड रुपैयाँभन्दा बढीका नक्कली नोट प्रवेश गराएको अनुमान छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले नक्कली नोट छाप्ने स्थान र मुख्य कारोबारीको खोजी गरिरहेका छन् ।