दुखद खबर :बिहे भोज खान गएका व्यक्ति चिसोले कठ्याङ्ग्रिएर मृत्यु !


रूकुम पश्चिममा चिसोले कठ्याङ्ग्रिएर एक जनाको मृत्यु भएको छ। जिल्लाको आठबिसकोट नगरपालिका वडा नम्बर ९ का ५२ वर्षीय बिने बटाला सोमबार मृत फेला परेको जिल्ला प्रहरी प्रमुख डिएसपी ध्रुबकुमार श्रेष्ठले बताए।

बटाला वडाकै राडी बजारमा बिहे भोज खान गएका व्यक्ति हुन्।‘उहाँले यसअघि पनि मदिरा सेवन गर्ने गरेको खुलेको छ,’ श्रेष्ठले भने, ‘बिहे भोजमा पनि मदिरा सेवनपछि बिहे घरकै पछाडि त्रिपालमा एक्लै सुतेका बटाला बिहान मृत फेला परेको खुल्न आएको छ।’ चिसोकै कारण कठ्याङ्ग्रिएर बटालाको मृत्यु भएको अनुमान भइरहेको डिएसपी श्रेष्ठले जानकारी दिए।
बिहान आफन्तले उठाउन खोज्दा बटाला हलचल नगरेपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए। शव पोष्टमार्टमपछि आफन्तलाई बुझाइएको र पोष्टमार्टमको रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ।