काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले वैदेशिक रोजगारीमा जाने श्रमिकमाथि शोषण गर्नेहरुलाई सरकारले हदैसम्मको कारबाही गर्ने बताएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीच हुने संयुक्त कार्यसमिति बैठकको तयारी सम्बन्धमा मंगलबार सरोकारवालाहरुसँग गरेको छलफलमा मन्त्री श्रेष्ठले उक्त धारणा राखेका हुन् ।
वैदेशिक रोजगारीमा रहेका लाखौं युवाको जीवन सुरक्षित बनाउनु सरकारको प्रमुख दायित्व रहेको बताउँदै मन्त्री श्रेष्ठले वैदेशिक रोजगारको क्षेत्र सुधार गर्ने अभियानबाट आफु पछि नहट्ने प्रतिबद्धता जनाएको उनको निजी सचिवालयले जानकारी दिएको छ ।
आफुले श्रमिकको हितमा परिणाममुखी काम गर्दै आइरहेको दाबी गर्दै मन्त्री श्रेष्ठले वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सरोकारवालाहरुबाट सहयोगको अपेक्षा गरिएको बताए । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सरल, पारदर्शी र विश्वसनीय सेवा पु¥याउनुपर्ने भन्दै मन्त्री श्रेष्ठले नेपाल र यूएईबीच हुने संयुक्त कार्यसमिति बैठकमा नेपालले न्यूनतम पारिश्रमिक वृद्धि, सीप विकासमा लगानी, पुनःएकीकरण तथा पुनस्र्थापना कार्यक्रम सञ्चालनजस्ता विषयलाई प्राथमिकता दिने बताए ।
मन्त्रालयका सचिव एकनारायण अर्यालले वैदेशिक रोजगार क्षेत्रका कमी कमजोरी सुधार्न मन्त्रालयको नेतृत्व गम्भीर भएर लागेको बताए । सचिव अर्यालले नेपाल सरकारले सातवटै प्रदेशमा सञ्चालन गर्ने सीप विकास तालिम केन्द्रमा लगानी, श्रमिकको स्वास्थ्य बीमा, सामाजिक सुरक्षा योजनामा सहभागिता, न्यूनतम पारिश्रमिक वृद्धिलगायत एजेण्डा मन्त्रालयले प्रस्तुत गर्ने अर्यालले बताए ।
नेपाल र यूएईबीच भएको श्रम समझदारी कार्यान्वयनमा सहजीकरण गर्न दुबै देशका प्रतिनिधि सम्मिलित संयुक्त कार्यसमितिको बैठक यूएईमा हुँदैछ । कार्यक्रममा सहभागीहरुले यूएईमा रहेका नेपाली श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि, सुरक्षित कार्य वातावरण तथा न्याय र सूचनामा सहज पहुँच सुनिश्चित गर्ने विषयलाई नेपालले प्राथमिकता दिनुपर्ने बताएका थिए ।
वैदेशिक रोजगारीको प्रलोभनमा परी पर्यटन तथा अन्य भिसामा यूएई गई अलपत्र परेका नेपालीहरूको व्यवस्थापनका विषयमा यूएई सरकारसँग छलफल गर्न मन्त्री श्रेष्ठ नेतृत्वको टोली यूएई जाँदैछ । सोही क्रममा नेपाल–यूएई संयुक्त कार्यसमितिको बैठक पनि आयोजना हुने मन्त्रालयले जनाएको छ ।














प्रतिक्रिया