भिजिट भिसाबारे बुझ्न श्रममन्त्री नै यूएई जाने…(भिडियो सहित)


श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) यूएई जाने भएका छन् । मन्त्री श्रेष्ठको निजी सचिवालयले भिजिट भिसामा गई त्यहाँ अलपत्र अवस्थामा रहेका नेपालीहरुको व्यवस्थापनका लागि आगामी साता मन्त्री श्रेष्ठ यूएई जाने तयारी रहेको बताएको छ ।

वैदेशिक रोजगारीको प्रलोभनमा परी पर्यटन तथा अन्य भिसामा यूएई पुर्‍याएर अलपत्र परेका नेपालीहरुको व्यवस्थापनका विषयमा यूएई सरकारसँग छलफल गर्न मन्त्री श्रेष्ठ यूएई जान लागेको भन्दै निजी सचिवालयले नेपाली नागरिकलाई यूएईमा अलपत्र पार्ने संस्था वा व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन र पीडितलाई कसरी न्याय दिलाउन सकिन्छ भन्नेबारे मन्त्री श्रेष्ठले नेपालका लागि यूएईका राजदूत साइद हमदान अल नाकीसँग आइतबार मन्त्रालयमा छलफलसमेत गरेको बताएको छ ।

नक्कली मागपत्र बनाउने, झुटो आश्वासन र रोजगारीको प्रलोभन देखाएर प्रचलित कानूनले तोकेको प्रक्रियाभन्दा बाहिरबाट नेपालीलाई यूएई पुर्‍याउने कार्यमा संलग्न व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन पनि यूएई सरकारबाट सहयोगको अपेक्षा गरिएको मन्त्री श्रेष्ठको भनाइ छ ।

त्यसअवसरमा मन्त्री श्रेष्ठले रोजगारीको प्रलोभनमा यूएई गई अलपत्र परेका नेपालीहरुको समस्या समाधानमा सहयोग गर्न राजदूत साइदसँग आग्रह गरेका थिए । मन्त्री श्रेष्ठले अलपत्र परेका नेपालीहरुलाई यूएईमै रोजगारीको अवसर प्रदान गर्ने, भिसा अवधि सकिएर बढी शुल्क बुझाउनुपर्ने वा गैरकानूनीरुपमा बस्नुपर्ने बाध्यता भएकाहरुलाई आममाफी दिनुपर्ने तथा उद्धार गर्नुपर्नेहरुलाई नेपाल फिर्ता गर्ने क्रममा यूएई सरकारबाट सहयोगको अपेक्षा गरेको पनि निजी सचिवालयले जनाएको छ ।

राजदूत साइदले अलपत्र परेका नेपालीलाई यूएईमा नै रोजगारी दिलाउन तथा उद्धार गर्नुपर्नेहरुलाई पनि आवश्यक सहयोग गर्ने आश्वासन दिएका छन् । मन्त्री श्रेष्ठको यूएई भ्रमणको क्रममा नेपाल–यूएई संयुक्त समितिको बैठक पनि आयोजना हुने बताइएको छ ।