रेल सञ्चालनको तयारी, लिगबाट हाटबजार हटाउन सुरु


धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सेवा सञ्चालन हुने निश्चित भएपछि नेपाल रेल्वे कम्पनीले रेलको लिगमा अव्यवस्थित रुपमा लाग्दै आएको हाटबजार हटाउन सुरु गरेको छ।

अगामी महिनादेखि रेल सेवा सञ्चालनको तयारी गरेको नेपाल रेल्वे कम्पनीले जनकपुरधाम उपमहानगरपालिका–१ सीता चोकस्थित रेल्वे लिकमा व्यापारीले लगाउँदै आएको दैनिक हाटबजार तत्काल हटाउन सुरु गरेको हो। जनकपुरधामसहित ठाउँ ठाउँमा रेल्वे लिगमै तरकारी हाटबजार लगाउने गरेका कारण रेल सञ्चालनमा समस्या हुने भएकाले लिगबाट हाटबजार हटाउने अभियान सुरु गरेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए।

हाटबजारका लागि जनकपुर रेल्वे स्टेशनकै छेउमा रहेको रेल्वे कम्पनीको जग्गाको निरीक्षण गरिसकेको र त्यसैलाई व्यवस्थित गरेर त्यहीँ हाटबजार लगाउने विषयमा एक चरणको छलफल भएको महाप्रबन्धक झाको भनाइ छ। खरिद गरेर पनि लामो समयदेखि सञ्चालन हुन नसकेका दुई रेल सेट नेपाल रेल्वे कम्पनीले आगामी फागुन १ गतेदेखि दैनिक जयनगरदेखि कुर्थासम्म ड्राई (बिना यात्रु) सञ्चालन गर्ने तयारी गरेको छ।

उद्घाटनको मिति एक दुई दिनभित्रै टुङ्गो लाग्ने भएकाले रेल सेवा नियमित सञ्चालनका लागि सबै पक्षले सहयोग गर्नुपर्ने महाप्रबन्धक झाले बताए । रेल उद्घाटनपछि सुरुका १५ दिन दिनको एक पटक आउने र जाने गरी रेल सञ्चालन गर्ने र त्यसपछि यात्रुको चाप तथा आवश्यकता हेरेर दिनमा २÷३ पटकसम्म पनि रेल सञ्चालन गर्न सकिने तयारी गरेको उनले बताए।

गत २०७७ असोज २ गते भारतबाट ८४ करोड ६५ लाखमा खरिद गरिएका दुई सेट रेल जयनगरबाट जनकपुर ल्याएर धनुषाको जनकनन्दनी गाउँपालिकाको इनरुवामा पार्किङ गरी त्रिपाल ओढाएर राखिएको छ। लामो समयदेखि त्रिपालमुनी थन्किएका रेलको गत पुस २४ गते जयनगरदेखि कुर्थासम्म परीक्षण गरिएको थियो।