नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइराला बालकोट पुगेका छन् । ओली भेट्न कोइराला मंगलबार साँझ ओली निवास बालकोट पुगेका हुन् ।
भेटमा समसामयिक राजनीतिक परिस्थितिअन्तर्गत एमसीसी सम्झौता, स्थानीय तहको निर्वाचन तथा संसदको गतिरोध अन्त्य गर्ने विषयमा छलफल भएको बताइएको छ । कोइराला निकट स्रोतका अनुसार पूर्वनिर्धारित कार्यक्रम अनुसार भेटघाट भएको बताइएको छ । यसअघि ओली प्रधानमन्त्री हुँदा पनि कोइराला ओलीलाई भेट्न बालुवाटार नै पुगेका थिए ।
फागुन १६ भित्र एमसीसी पारित गर्नुपर्ने समयसीमा घर्किँदै गर्दा कांग्रेस नेताहरुले दौडधुप बढाएका छन् । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाको दूत बनेर सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ओलीसँग भेट गरेका थिए । एमालेले माधव नेपालसहित १४ सांसदको कारवाही रोकेको भन्दै सभामुखको भूमिकामाथि प्रश्न उठाएर निरन्तर संसद अवरोध गरिरहेको छ । अर्कोतिर सत्ता गठबन्धनका माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसी सम्झौता संशोधनको कुरा उठाएका छन् । यस्तो अन्योलका बीच प्रधानमन्त्री र कांग्रेसका नेताहरु वातावरण बनाउन प्रतिपक्ष गुहारिरहेका छन् ।














प्रतिक्रिया