राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले एसईईको परीक्षा गराउने जिम्मा प्रदेश सरकारलाई दिनेगरी कानुन निर्माण गरिरहेको बताएका छन् ।
बिहीबार शिक्षा पत्रकार नेपाल(इजोन)ले काठमाडौंमा आयोजना गरेको परीक्षासम्बन्धी अन्तरक्रिया कार्यक्रममा अध्यक्ष शर्माले एसईईको परीक्षा गर्ने जिम्मा प्रदेश सरकारलाई दिनेगरी कानुन निर्माण गरिरहेको बताएका हुन् । उनले ऐनमा व्यवस्था नभई सबै कुरा प्रदेश सरकारलाई दिन कानुनतः अफ्ठ्यारो भएको उल्लेख गर्दै संघीय सरकारले प्रदेशलाई अधिकार दिने कानुन पारित गरे प्रदेश सरकारले नै एसईईको परीक्षा लिनसक्ने बताए । अध्यक्ष शर्माले अबको परीक्षाको उत्तरपुस्तिकाहरू प्रदेश सरकारले जिल्ला र केन्द्रका कुरालाई समन्वय गर्ने, उत्तरपुस्तिका परीक्षण गर्ने, परीक्षणपछि टेबुलेसन गर्ने, परीक्षण गराउने र नतिजा प्रकाशन गर्नको लागि राष्ट्रिय परीक्षा बोर्डमा पठाउने काम गर्ने पनि बताए ।
प्रदेश सरकारले उक्त अधिकार पाएमा प्रदेशले उत्तरपुस्तिका परीक्षण गरिसकेपछि आफ्नो समयानुसार नतिजा प्रकाशन गर्नसक्ने उनको भनाइ थियो । अध्यक्ष शर्माले भने, ‘अब फागुन १ गतेदेखि राम्रोसँग विद्यालय र कलेज व्यवस्थित भएर सञ्चालन भएमा फागुन र चैत दुई महिना पढिसकेपछि लगभग ८० प्रतिशत पठनपाठन सम्पन्न भएको हुनाले वैशाखमा परीक्षा गर्न सकिने अवस्था सिर्जना हुन्छ । कक्षा १० को परीक्षाको सन्दर्भमा स्थानीय तहबाट दिने भन्ने कुरा विगतमा पनि आएका थिए, त्यो भनेको कक्षा १० को परीक्षा प्रादेशिक स्तरबाट लिने भन्ने हो ।
त्यसैले प्रादेशिक स्तरलाई हेर्दा प्रदेशको सामाजिक विकास मन्त्रालयको सचिवज्यूसमेतको उपस्थितिमा हामीले हरेक प्रदेशस्तरका व्यक्तित्वसँग छलफल गरेका छौं । अहिले हामी अबको परिस्थितिमा प्रदेश स्तरबाट नै सम्पूर्ण हिसावबाट अहिलेसम्मको राष्ट्रिय परीक्षा बोर्डको समन्वयमा कानुनमा व्यवस्था नगरिकन, ऐनमा व्यवस्था नभई सबै कुरा प्रदेश सरकारलाई दिन कानुनतः अफ्ठ्यारो छ । हामीले कसरी कक्षा १० को परीक्षा प्रादेशिक स्तरबाट सञ्चालन गर्न सकिन्छ, प्रदेशले जिम्मेवारी लिनसक्छ भन्ने लाइनमा वर्कआउट गर्न नीतिगत रुपमा र नियममा के परिवर्तन गर्न सकिन्छ भन्ने हिसावबाट त्यो प्रक्रियालाई अघि बढाएका छौं।’ शध्यक्ष शर्माका अनुसार प्रदेश पनि राष्ट्रिय परीक्षा बोर्डको निर्देशनअनुसार काम गर्न तयार रहेको छ । यस्तै अध्यक्ष शर्माले यस पटकको एसईई परीक्षामा २ हजार वटा केन्द्र रहने र ११ हजारभन्दा बढी विद्यालयले भाग लिने बताएका छन् । बोर्डले करिब ५ लाख विद्यार्थी यस पटकको एसईईमा उपस्थित हुनसक्ने अनुमान गरेको पनि अध्यक्ष शर्माले बताए ।














प्रतिक्रिया