प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा छलफल सुरू भएको छ।
बुधबार संसदीय दलको बैठक सकेर सोझै बालुवाटार पुगेका प्रचण्ड र देउवाबीच ‘वान टु वाट’ वार्ता चलिरहेको छ। स्रोतका अनुसार बैठक केहीबेर अगाडि सुरू भएको हो। ‘केहीबेर अगाडि बालुवाटार आइपुगेका प्रचण्ड र देउवाबीच वान टु वान वार्ता भइरहेको छ,’ स्रोतले भन्यो। संसदीय दलको बैठकमा अध्यक्ष प्रचण्डले आजको संसद बैठकमा अमेरिकी सहयोग परियोजना (एमसिसी) टेबल नगर्न अनुरोध गर्नेबारे सांसदहरूलाई जानकारी गराएका थिए।
बैठकमा प्रचण्डले आज संसदमा एमसिसी टेबल नगर्न अनुरोध गर्ने तर जबरजस्ती टेबल भयो भने त्यसबाट पर्ने सबै असर व्यहोर्न तयार रहेको बताएका थिए। बैठकमा प्रचण्डले पहिला प्रतिपक्षी एमालेले गरिरहेको संसद अवरोध हट्नुपर्ने र एमसिसीमा सहमति हुनुपर्ने बताएका थिए।
‘पहिला संसद सुचारू हुनपर्यो, सहमति हुनुपर्यो, सहमति नभइकन एमसिसी पेस भयो भने त्यसपछि सरकारमा बस्ने कि नबस्ने भन्ने हुन्छ,’ प्रचण्डलाई उद्धृत गर्दै बैठकमा सहभागी एक सांसदले भने,‘हामी पर्यो भने सरकार छोड्छौं, आज टेबल नगर्नको निम्ति हामी अनुरोध गर्छौं, जबरजस्ती टेबल भयो भने त्यसबाट पर्ने सबै असर व्यहोर्न तयार छौं, परेको व्यहोर्ने भनेको सरकार छोड्ने हुन्छ कि गठबन्धन तोड्ने हुन्छ।’














प्रतिक्रिया