काठमाडौं – ज्ञानेन्द्र शाही नेतृत्वको ‘हाम्रो नेपाल हाम्रो नेपाली अभियान’ राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित भएको छ । राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा आज आयोजित एक कार्यक्रममा राप्रपा र ‘हाम्रो नेपाल हाम्रो नेपाली अभियान’बीच एकता घोषणा गरिएको हो । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले शाहीलाई पार्टीमा स्वागत गरेका थिए ।
एकता घोषणा नहुँदै शाही एमसीसीविरुद्ध राप्रपाका भ्रातृ संगठनहरुले गत बुधबार निकालेको जुलुसमा सहभागी भएका थिए । मंगलबार बसेको राप्रपाको केन्द्रीय पदाधिकारी बैठकले शाही नेतृत्वको अभियानलाई पार्टीमा समाहित गर्ने महामन्त्री डा धवलशमशेर राणा संयोजकत्वको वार्ता समितिको प्रस्ताव अनुमोदन गरेको थियो । उनले भने, ‘राप्रपा सामान्य राजनीतिक पार्टीमात्र होइन, संकटमा रहेको देश र धर्म जोगाउने, देशमा विद्यमान भ्रष्टाचार अन्त्य गरेर सुशासन स्थापना गर्ने अभियानमा राप्रपा छ ।’
ज्ञानेन्द्र शाही र उनको नेतृत्वको रहेको अभियानलाई पार्टीमा स्वागत गर्न पाउँदा आफू र सिंगो पार्टी हर्षित र गौरवान्वित भएको पनि लिङ्देनले प्रस्ट पारे ।
उनले भने, ‘राप्रपामा लाग्ने कुनै पनि नागरिकले जीवनको कुनै पनि दिन, कुनै क्षण पश्चाताप गर्नुपर्ने छैन । राप्रपा एउटा पार्टीमात्र होइन, एउटा आन्दोलन र अभियान पनि हो ।’ देश र धर्म जोगाउन क्रियाशील एकमात्र पार्टी राप्रपा भएको पनि उनले दाबी गरे ।
राप्रपाको एकता महाधिवेशनपछि समान विचार राख्ने व्यक्ति, समूह, अभियान सबैसँग कुराकानी गरेर राप्रपामा समाहित गर्ने, आवद्ध गराउने कार्य अगाडि बढाउँदै आएको उल्लेख गर्दै लिङ्देनले यो अभियान जारी रहने बताए ।
३१ वर्षदेखि देश बेरोजगार उत्पादन गर्ने कारखाना बनिरहेको जिकिर गर्दै उनले देश र जनताले यथास्थितिको अन्त्य खोजिरहेको उल्लेख गरे । ‘एमाले, काँग्रेस, माओवादीको विकल्प खोज्न जरुरी छ,’ उनले भने, ‘त्यो विकल्प भनेको राप्रपा नै हो ।’














प्रतिक्रिया