एमसीसीलाई संसद्‍मा ल्याउन ढिलो गर्दा अहिलेको अवस्था सिर्जना भयो : ओली


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समयमै एमसीसी संसद्‍मा नल्याउँदा विदेशी शक्तिहरूको क्रिडास्थल बस्न पुगेको बताएका छन् ।

नयाँ बानेश्वरस्थित संसद्‍ भवनमा एमालेका केही सांसदहरूसँग छलफलको क्रममा ओलीले पहिले नै पारित गरेको भए अहिलेको अवस्था सिर्जना नहुने बताएका थिए । ‘विदेशीको क्रिडास्थल भएपछि बल्ल एमसीसी संसद्‍मा आयो । यस विषयमा अमेरिका, चीन बोल्नुपर्ने अवस्थामा आयो । एमसीसीको पहिले नै निर्णय गरेको भए अहिलेको अवस्था आउने थिएन,’ ओलीलाई उद्धृत गर्दै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले भने, ‘अहिले सडकमा जुन प्रकारको गतिविधि छ पहिलो अनुमोदन गरेको भए आउने थिएन । अहिले पनि सत्ता र सभामुख द्वन्द्व बढाउन खोजिरहेका छन् ।’

आइतबारको संसद्‍ बैठकपछि करिब ३० जना सांसदहरूसँग संसद्‍ भवनस्थित विपक्षी दलको कार्यकक्षामा ओलीले अन्तरक्रिया गरेका थिए । तर उनले एमसीसीमा एमालेको भूमिकाको बारेमा खासै कुरा गरेनन् । भट्टराईका अनुसार एमालेको जारी संसद्‍ विरोध निरन्तर रहने ओलीले बताएका छन् । ‘हामीले पनि वस्तुस्थितिको बारेमा अध्यक्षलाई जानकारी गरायौं । अहिले आम मानिस एमसीसीको पक्षमा नदेखिएको माहोल बिग्रिएको जानकारी गराएका थियौं । अनुमोदन गर्न ढिलाइका कारण यस्तो भएको हो’ भट्टराईले भने । ओलीले करिब एक घण्टा अन्तरक्रिया गरेका थिए ।