Logo

विदेश जादै हुनुहुन्छ होसियार: कोभिड खोपको प्रमाणपत्र: ‘क्यूआर कोड’बारे नबुझ्दा श्रमिकलाई सास्ती

सुनसरी बराह नगरपालिकाका २२ वर्षीय मनकुमार उराव शनिवार साउदी अरब जाँदै छन्। कोभिड-१९ का कारण पीसीआर परीक्षणको नतिजा अनिवार्य बोक्नुपर्ने भएकाले उनी दुई दिनअघि नै काठमाण्डू आए। शुक्रवार पीसीआर परीक्षणका लागि स्वाब समेत दिए।

तर उनलाई यात्रा गर्दा वा रोजगारीका लागि विदेशिँदा कोभिड-१९ विरुद्धको पूरा मात्रा खोप लगाएको क्यूआर कोडयुक्त प्रमाणपत्र चाहिन्छ भन्ने चाहिँ थाहा रहेनछ।

“मलाई त क्यूआर कोड भनेको के हो थाहा छैन। मैले त्यस्तो केही लिएको पनि छैन,” उनले बीबीसीसँग भने।

सँगै परीक्षण गर्न पुगेका कसैले क्यूआर कोडविना विदेश जान नपाइने सुनाएदेखि उनी तनावमा रहेछन्। आफूसँग एक रात बस्न र खान पुग्ने बाहेक थप रकम नभएको सुनाए।

असमञ्जसमा रहेका उनले प्रश्न गरेः त्यसका लागि फेरि घरतिर जानुपर्छ त? मसँग त घर फर्कने भाडा पनि पुग्दैन।”

मनकुमारलाई रोजगारीका लागि साउदी अरब पठाउन लागेको कम्पनीले भने उनले पूर्ण मात्रा खोप लगाएको पुष्टि गर्न क्यूआर कोडसहितको प्रमाणपत्र लिइसकेको जानकारी दियो।

इजरेलसँग वैदेशिक रोजगारका लागि गरिएको दोहोरो सम्झौता के हो?
नेपाली कामदारको माग घट्ने चेतावनी
कम्पनीमार्फत्‌ हाल साउदी अरबमा नेपाली कामदार पठाउँदै आएका रमेश कार्कीले भनेः”पीसीआर रिपोर्ट र खोप लगाएको क्यूआर कोड अनिवार्य छ। क्यूआर कोडका लागि उहाँहरू स्वयंले अनलाइन आवेदन भर्न नसक्ने भएकाले आवश्यक विवरण माग्छौँ र हामीले भरिदिन्छौँ।”

वैदेशिक रोजगारीका लागि जनशक्ति पठाउने अर्को कम्पनी भैरव इन्टरन्याश्नल सर्भिसका प्रकाश तामाङले पनि क्यूआर कोडका लागि कम्पनीले नै पहल गर्नुपर्ने बताए।

“श्रमिकहरूलाई क्यूआर कोड भनेकै थाहा हुँदैन। त्यसमाथि अनलाइन भर्नुपर्ने भएकाले हामीले नै सबै काम गरिदिन्छौँ। किनकि उनीहरूले जान्दैनन्,” तामाङले भने।

आफ्नो क्यूआर कोड बनिसकेको थाहा पाएपछि मनकुमार उराव केही ढुक्क सुनिए। तर आफ्नो पीसीआरको ‘नतिजा के आउँला?’ भन्ने चिन्तामा छन्। किनकि खोप लगाएको प्रमाणपत्र भए पनि ७२ घण्टाभित्र गरिएको पीसीआर परीक्षणमा नतिजा नेगेटिभ आएको प्रमाणपत्र नभई यात्रा गर्न नपाइने अधिकारीहरू बताउँछन्।

कहाँ जाँदा गर्नुपर्दैन पीसीआर?
कोभिड-१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्रकी प्रवक्ता सुनिता नेपालका अनुसार नेपालबाट भारत जाँदा पीसीआर रिपोर्ट नचाहिने भएको हो।

भारत सरकारले नेपालसहित ८२ देशबाट त्यहाँ आउने व्यक्तिलाई रिपोर्टविना प्रवेश गराउने व्यवस्था गरेको हो।

यसअघि नेपालबाट भारत प्रवेश गर्न पीसीआर रिपोर्ट अनिवार्य थियो।

कोभिड खोप
तस्बिर स्रोत,EPA
“भारतले पीसीआर रिपोर्ट नचाहिने बनायो। त्यस्तै दुबईले पनि परीक्षणसम्बन्धी नीतिलाई केही खुकुलो बनाएको छ,” नेपालले भनिन्।

उनका अनुसार यसअघि संयुक्त अरब इमिरेट्स जाँदा ७२ घण्टा भित्र गरिएको पीसीआर परीक्षण रिपोर्ट र ६ घण्टा अघिको एन्टिजे‍न परीक्षण रिपोर्ट आवश्यक थियो।

“अब आरडीटी परीक्षण नगरे पनि हुने भएको छ। पीसीआर चाहिँ गर्नुपर्छ,” जानकारी दिइन्।

श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयका सहायक प्रवक्ता डा. थानेश्वर भुसालका अनुसार दुवै मात्रा खोप लगाएकाहरूले मात्र एन्टिजन परीक्षण गर्न नपर्ने भएको हो।

यात्राका क्रममा खोप लगाएको पुष्टि गर्ने प्रमाणपत्रको क्यूआर कोड भने अझै प्रायः अनिवार्य भएको प्रवक्ता नेपालले बताइन्।

“हाम्रो खोप कार्ड अन्य देशमा मान्य नभएकाले क्यूआर कोड नै चाहिन्छ,” उनले भनिन्।

कसरी लिन सकिन्छ त क्यूआर कोड?
स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागले खोप लगाएको पुष्टि गर्ने प्रमाणित पत्र उपलब्ध गराउँदै आएको छ।

त्यसका लागि कोभिड-१९ पूर्ण खोपको विद्युतीय प्रमाणीकरणका लागि आवेदन फारम भर्नुपर्ने हुन्छ।

त्यस फारममा व्यक्तिगत विवरण, स्वास्थ्य विवरण, कबुलियतनामा, विदेश जानेको हकमा थप जानकारी, कुन खोप कुन केन्द्रमार्फत्‌ र कहिले लगाएको जानकारी फारममा भर्नुपर्छ।

साथै परिचयपत्र, व्यक्तिको तस्बिर र खोप लगाएको पुष्टि गर्ने कार्डको तस्बिरसमेत आवश्यक पर्छ।

विदेश जान किनेरै कोभिड जाँचको नक्कली प्रमाणपत्र
खाडी मुलुकहरूसँगको इजरेली सम्झौताले किन अर्थ राख्छ
मागिएको विवरण दिएपछि रजिस्ट्रेसन नम्बर प्राप्त हुन्छ। जानकारहरूका अनुसार आवेदन प्रक्रियामा दुईदेखि तीन दिन लाग्नसक्छ।

आफ्नो आवेदनको प्रगति विवरण फारम भरेकै साइटमा गई रजिस्ट्रेसन नम्बर राखेर हेर्न सकिन्छ।

“क्यूआर कोड तयार भएपछि त्यसलाई हामीले डाउनलोड गरेर मोबाइलमा वा प्रिन्ट गरेर राख्न सक्छौँ। त्यसमा कुनै छाप आवश्यक पर्दैन। त्यसलाई प्रविधिको प्रयोगले पढ्न सकिन्छ,” स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए।

स्थानीय तहको स्वास्थ्य शाखामार्फत्‌ पनि यस प्रक्रियाका लागि सहयोग लिन सकिने उनले बताए।

श्रमिकहरूलाई प्रक्रिया बुझ्न सहयोग
हाल विदेशिँदै गरेका अधिकांश श्रमिकलाई जनशक्ति पठाउने कम्पनीले नै क्यूआर कोड बनाउन सहयोग गर्दै आएका छन्।

त्यसैले श्रमिकहरूले आफूसँग भएका कुन कागजपत्र के हो भन्ने विरलै बुझ्ने भैरव इन्टरन्याश्नल सर्भिसका प्रकाश तामाङ बताउँछन्।

“श्रमिकहरू प्रायः नपढेका र प्रविधिको पहुँच नभएका हुने गरेकाले केही विषयबारे मेसो पाउँदैनन्। त्यसैले हरेक वर्ग वा समुदायका मानिसले बुझ्नेगरी यस्ता प्राविधिक प्रक्रियाहरूबारे जानकारी दिन आवश्यक छ,” उनले भने।

महामारीबीच वैदेशिक रोजगारका लागि जाने नेपालीहरूलाई खोप लगाएको क्यूआर कोड सहितको प्रमाणपत्रबारे श्रम मन्त्रालयले उचित ढङ्गमा बताउन सकेको भए यसको प्रभावकारिता राम्रो हुनसक्ने मन्त्रालयका सहप्रवक्ता भुसालले स्वीकारे।

“सबै देशमा अनिवार्य रूपमा आवश्यक नभनेकाले आवश्यक संयन्त्र तयार पारेका छैनौँ र कुनै पहल भएको छैन,” उनले भने।

त्यसका लागि स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर श्रमिकमैत्री साधन बनाउन सकिने समेत बताए।

प्रतिक्रिया दिनुहोस्