यूएईविरूद्ध नेपालको पहिले बलिङ


नेपालले मंगलबार ट्वान्टी–२० विश्वकप छनोटको सेमिफाइनलमा यूएईविरूद्ध पहिला फिल्डिङ गर्ने भएको छ । ओमानको मस्कटमा यूएईले टस जितेपछि ब्याटिङ रोजेको हो ।

नेपाल टोलीमा एकमात्र परिवर्तन गरिएको छ । कुशल मल्लको स्थानमा अर्का अलराउन्डर विवेक यादवलाई राखिएको छ । क्यानडाविरूद्ध अघिल्लो दिनको खेलमा कुशल आफुले सामना गरेको पहिलो बलमा बोल्ड भएका थिए । यस खेलमा जित्ने टोली यसै वर्ष अस्ट्रेलियामा हुने ट्वान्टी–२० कपमा पुग्ने छ । दुबै टोली ८ वर्षपछि पहिलो पटक विश्वकपमा पुग्ने दाउमा छन् । नेपाल र यूएई दुबैले पछिल्लो पटक २०१४ मा ट्वान्टी–२० विश्वकप खेलेका थिए । त्यसयता दुबै टोली पहिलो पटक ट्वान्टी–२० विश्वकप पुग्ने प्रयासमा छन् ।

नेपाल प्रतियोगिताको एकमात्र अपराजित टोली हो । नेपालले सोमबार क्यानडामाथी ८ विकेटको सहज जित निकालेको थियो । सबै ३ खेल जितेर समूह ‘बी’ को विजेता बनेको नेपालले यसअघि घरेलु टोली ओमानलाई ३९ र फिलिपिन्सलाई १ सय ३६ रनले पराजित गरेको थियो । यूएई त्यसको तुलनामा सोमबार बहराइनसँगको खेलमा निकै भाग्यमानी रह्यो । पहिला ब्याटिङ गरेको बहराइनले १७२–५ को स्कोर बनाएको थियो । यूएईलाई १ सय ५७ रनभित्र रोक्न सकेको भए बहराइन सेमिफाइनल पुग्ने थियो र नेपालसँग सेमिफाइनल खेल्ने थियो ।

यूएईलाई अझ १ सय ५७ रनमाथि पुग्न अन्तिम ओभरमा १२ रन चाहिन्थ्यो । भृत्या अरविन्दले २४ रन बनाउँदै यूएईलाई बहराइनको स्कोर नजिक पुर्‍याए पनि जित दिलाउन सकेनन् । यूएईले ६ विकेट गुमाई १ सय ७० रनमात्र बनाउन सक्यो । यूएईको पराजयपछि आयरल्यान्ड समूह ‘ए’ को विजेता बन्यो र ओमानसँगको अर्को सेमिफाइनल भिडन्त पक्का गर्‍यो । बहराइनभन्दा यूएई थोरैले मात्र अगाडि रहेको थियो । त्यसअघि यूएईले आयरल्यान्ड र जर्मनीलाई पराजित गरेको थियो । ट्वान्टी–२० विश्वकप छनोट अघि ओमान भ्रमणमा खेलिएको चारदेशीय ट्वान्टी–२० शृंखलामा यूएईले नेपाललाई २५ रनले पराजित गरेको थियो । तर नेपालबाट त्यो खेलमा कुशल भुर्तेल, अविनाश बोहराले खेलेका थिएनन् ।