उखुबारीमा हात्ती मृत फेला


कञ्चनपुरको पुनर्वास नगरपालिका २ अमरैयामा एक पोथी हात्ती (ढोइ) मृत अवस्थामा फेला परेको छ । ४ दिनअघि भारतको दुधुवा राष्ट्रिय निकुञ्जबाट आएको हात्ती बुधबार दिउँसो मृत अवस्थामा भेटिएको हो ।

‘घाउचोट कतै देखिएको छैन, निकै कमजोर देखिएको छ,’ कुण्डा सवडिभिजन वन कार्यालय पचगडियाका प्रमुख दिनेश यादवले भने, ‘आएकै दिन पनि निकै कमजोर देखिएको थियो, हामीले लालझाडीतिर लगाउन पनि खोजेका थियौं, तर सकेनौं ।’ उनका अनुसार लालझाडी संरक्षित वनको २ किलोमिटर दक्षिणतिर दोधारा नदी किनारमै उखुबारीमा हात्ती मृत भेटिएको हो ।

मृत हात्तीको लम्बाई १० फिट ९ इन्च, चौडाइ ७ फिट २ इन्च र पुच्छरको लम्बाई ३ फिट छ । हात्ती मृत्युको कारण खुलेको छैन । पशु अस्पताल महेन्द्रनगरको टोलीले हात्तीको मृत्युको कारण पत्ता लगाउन दिशा तथा रगतको नमुना संकलन गरेको उनले बताए ।यादवका अनुसार उक्त हात्ती दोदा नदीमा पानी पिउने र उखुबारीमा चर्ने गर्थ्यो । हात्तीलाई सोही ठाउँमा खाल्डो खनेर गाडिएको उनले बताए ।