प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच ‘वान टु वान’ वार्ता सुरु भएको छ। यसअघि प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरु सहभागी भए पनि बाँकी नेताहरु बाहिर निस्किएको बताइएको छ।
‘यसअघि कांग्रेसबाट महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की र नेकपा एमालेबाट ईश्वर पोखरेल र सुवासचन्द्र नेम्वाङ सहभागी हुनुहुन्थ्यो। दुई नेताबीच छलफल हुने भएपछि उहाँहरु निस्किनुभएको छ,’ एक कांग्रेस नेताले बताए। आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक स्थगित भएपछि प्रधानमन्त्री देउवा र नेकपा एमालेका अध्यक्ष ओलीसहितका नेताहरुबीच छलफल सुरु भएको थियो।
एमसीसीको विषयमा धारणा बनाउन दुई नेताबीच ‘वान टु वान’ वार्ता सुरु भएको ती नेताले बताए। ‘वान टु वान वार्तापछि एक प्रकारको सहमतिको टुंगो लाग्ने विश्वास गरेका छौं,’ ती नेताको भनाइ थियो। एमसीसी सम्झौता संसदमा टेबल भएपछि सत्ता गठबन्धन टुटको अवस्थामा पुगेको छ।
प्रतिक्रिया