सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संसद्बाट एमसीसी पारित गराउन साथ नदिने भए तत्काल सरकार छोड्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गरेका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष भट्टराईले संसद्बाट एमसीसी पास गर्ने बेला आफूहरु बाहिरिने भनेर लटरपटर कुरा नगर्न पनि दाहाललाई चेतावनी दिए । उनले एमसीसी सम्झौता संसद्मा रहेको कूल सदस्य संख्याको स्पष्ट बहुमतबाट पारित गर्न साथ नदिए माओवादी केन्द्र सरकारबाट बाहिरिनु पर्ने र त्यसको ठाउँका अर्को पार्टी आउने दाबी समेत गरे । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले सरकारमा बसेर तर मार्ने अनि बाहिरबाहिर राष्ट्रवादी भनेर भित्रभित्र राष्ट्रघात गर्न माओवादी केन्द्रले नपाउने बताए । उनले आफूहरु संसद्बाट स्पष्ट बहुमत पुर्याएर सो सम्झौता पारित गराउन लागि परेको बताए ।
एमसीसी मुलुकको समृद्धि र विकासका लागि पनि नेपालले पारित गरेर जानुपर्ने भट्टराईको तर्क थियो । उनले एमसीसी पारित नभए नेपाल चीन, भारत र अमेरिकाको भूराजनीतिक चपेटामा पर्ने खतरासमेत औंल्याए । भट्टराईले भने,‘मैले प्रष्ट ढंगले भनेको छु– संसद्मा पनि र बाहिर पनि मैले भनेको छु । फेरी पनि भन्न चाहन्छु– यो एमसीसी सहमतिबाट पछाडि हट्दाखेरी ठूलो संकट हामीसाग आईपर्दैछ । त्यसलाई राष्ट्रिय सहमती बनाएर जानुपर्छ । यसको निम्ति अब संसद्मा स्पष्ट बहुमतले पारित गर्नुपर्छ । कोही मान्छे लटरपटर पारेर लौ यो हामी छोडिदिन्छौं, हामी चााही बाहिर गईहाल्छौं । तपाई पास गर्नोस भनेर झिनो मतले अब संसद्बाट उपस्थितिको बहुमत । संसदमा ६८ जना भए कोरम पुग्छ । त्यसको आधा ३५ हुन्छ । अनि, ३५ जनाले पारित गर्ने ? यस्तो महत्वपूर्ण मुद्दा ।
हुँदैन । संसद्को अहिलेको संख्या २७५ हो । भलै २७१ संख्या छ । यसको आधा १३८ हुन्छ । १३८ भन्दा माथि पुर्याएर नै यसलाई पास गर्नुपर्छ । त्यो भन्दा तल लटरपटर कर्मकाण्ड गरियो भने जनतामाथि धोका हुन्छ । त्यसो गर्न पाइँदैन । मेरो विनम्र आग्रह छ । खासगरी मेरा पुराना मित्र प्रचण्डजीलाई । कित तपाईंले यसलाई साथ दिनोस् १३८ पुर्याएर पारित गर्नोस् । होइने भने तपाई सत्तामा पनि बस्ने, तर पनि मार्ने अनि बाहिर चाँही राष्ट्रवाद भित्र चाँही राष्ट्रघात गर्न पाइँदैन । पहिलो विकल्प, तपाईले साथ दिनुहोस् । होइन भने तपाई जानोस्, त्यसको ठाउँमा अर्को आउँछ । हामी बहुमत पुर्याएर पारित गर्छौं । हाम्रो स्पष्ट धारणा यो छ । लटरपटर कुरा हुँदैन ।’
भट्टराईले नेपालले चीन, भारत र अमेरिकालगायतका सबै देशको सहयोग लिएर मुलुकको विकास, समृद्धि र दीगो शान्तिका लागि काम गर्नुपर्ने दोहोर्याए । उनले एमसीसी सम्झौता आफ्ना लागि नभई राष्ट्रको हितमा भएकाले यसलाई पारित गर्न आफू लागि परेको बताए ।
प्रतिक्रिया