होली खेल्ने क्रममा गत शुक्रबार एक विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोप लागेका शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक मनोज पौडेललाई प्रहरीमा बुझाउने तयारी थियो । विद्यालयमा शिक्षक र गाउँलेबिचको छलफलपछि आरोपितलाई त्यत्तिकै बाहिर निकाल्दा भीडले आक्रमण गर्ने डर थियो । प्रहरीमा बुझाएपछि पौडेललाई कुनै कारबाही नहुने भन्दै एउटा समूह आफैंले कारबाही गर्ने भन्दै ‘अराजक’ बनेको थियो । अर्को पक्ष पौडेललाई जोगाउन लागि परेको थियो । दुई पक्षका कारण लेटाङमा तनाव बढ्दो थियो ।
त्यही तनाव नियन्त्रण गर्न, आरोपित शिक्षकलाई पक्रन र स्थानीयबासिन्दाको सुरक्षा गर्ने जिम्मेवारी पूरा गर्न उर्मिला लेटाङ पुगेकी थिइन् । तर त्यो भीडमा कसैले उनीमाथि चक्कु हान्यो, त्यो पनि घाँटीमा । घटनास्थलमा नै रक्ताम्मे बनेकी उनलाई आइतबार राति नै कोशी अस्पताल पु¥याइएको थियो । तर चिकित्सकले उनलाई बचाउन सकेनन् ।
उर्मिलका श्रीमान इलाममा प्रहरी जवानमै कार्यरत छन् । दाजु भुवन श्रेष्ठ विराटनगरमै प्रहरी सहायक निरीक्षक छन् । प्रदेश १ प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक नविन राईका अनुसार श्रेष्ठ प्रहरीको तालिमपछि गणमा कार्यरत थिइन् ।
शिक्षकलाई आक्रमण गर्न खोज्ने स्थानीय र आक्रमणबाट रोक्ने प्रहरीबीच आइतबार दिनभर झडप भएको थियो । भिडले शिक्षकले प्रयोग गर्ने मोटरसाइकल आगजनी गर्दै स्कुलमा पुगेको एम्बुलेन्स पनि तोडफोड गरेको थियो ।
आइतबार दिनभर तनाबग्रस्त भएको स्कुलबाट प्रहरीले राति करिब साढे ७ बजे शिक्षकलाई प्रहरी कार्यालय ल्याएको थियो । प्रहरी कार्यालय ल्याउने क्रममा घरेलु हतियारसहित आएको समूहले आक्रमण गरेको थियो ।
झडपमा मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीसहित २९ जना प्रहरी घाइते भए । आन्दोलनकारी सात जना घाइते भएको प्रहरीले बताएको छ । एक जना आन्दोलनकारीको छातीमा गोली लागेको छ । घाइतेहरुको कोशी अस्पताल र नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिन पाँच राउण्ड हवाई फायर र १५ सेल अश्रुग्यास प्रहार गरेको थियो ।














प्रतिक्रिया