अभिनेता पल शाहको निवेदन आज उच्च अदालत पोखरामा पेसी चढ्दै


नाबालिगलाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँ जिल्ला अदालतमा मुद्दा दायर भएपछि पुर्पक्षका लागि थुनामा पठाइएका अभिनेता पल शाहको निवेदन बुधबार उच्च अदालत पोखराको पेसीमा चढ्ने भएको छ ।

तत्काल प्राप्त प्रमाणबाट शाहले जबरजस्ती करणी गरेको देखिएको भन्दै तनहुँ जिल्ला अदालतले गत चैत १० गते शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । तनहुँ जिल्ला अदालतको उक्त आदेशविरुद्ध शाहको तर्फबाट मंगलबार उच्च अदालत पोखरामा पुनरावेदनको निवेदन दर्ता गरिएको थियो । थुना बाहिरबाटै मुद्दाको पुर्पक्ष गर्न पाउनु पर्ने भन्दै शाहले उच्च अदालतमा निवेदन दिएका थिए ।

उच्च अदालत पोखराका सूचना अधिकारी उपरजिष्ट्रार विष्णुप्रसाद आचार्यका अनुसार शाहका तर्फबाट तनहुँ जिल्ला अदालतको थुनछेक आदेश बदर गरी साधारण तारेखमा रिहाइ गरिपाउँ भन्दै निवेदन परेको हो । शाहले मुलुकी फौजदारी कार्यावधि संहिता, २०७४ को दफा ७३ बमोजिम थुनुवाका तर्फबाट निवेदन परेको हो । उनको निवेदन बुधबार उच्च अदालतको पेशी सूचीमा चढ्ने सूचना अधिकारी आचार्यले बताए । शाहले थुनामुक्त हुनका लागि दिएको निवेदनमा तनहुँ जिल्ला अदालतले थुनामै राखी मुद्दाको पुर्पक्ष गर्नेगरी दिएको आदेश कानुनसम्मत नभएको, अदालतमा रहेको मिसिल र तथ्यगत प्रमाणलाई वेवास्ता गरिएको आदि कारणबाट आफू थुनामुक्त भई साधारण तारेखमै रहेर मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग गरिएको छ ।