करण केसीको ह्याट्रिक, लगातार तेस्रो जित निकाल्दै नेपाल फाइनलमा


तीव्र गतिका बलर करण केसीले ह्याट्रिक गरेको खेलमा जित निकाल्दै पपुवा न्युगिनी (पिएनजी) र मलेसियाविरुद्धको टी-२० अन्तर्राष्ट्रिय सिरिजमा घरेलु टिम नेपाल फाइनलमा प्रवेश गरेको छ।

लगातार तेस्रो जित निकाल्दै नेपाल फाइनलमा पुगेको हो। नेपालले बिहीबार पिएनजीलाई ३७ रनले पराजित गर्दै लगातार तेस्रो जित निकाल्यो। यसअघि नेपालले सुरूवाती दुई खेलमा पिएनजी र मलेसियालाई पराजित गरेको थियो। अब नेपालले लिग चरणको अन्तिम खेलमा शनिबार मलेसियासँग प्रतिस्पर्धा गर्नेछ। सो खेलमा पराजित भए पनि नेपालको फाइनलमा स्थान पक्का छ। फाइनल आगामी सोमबार हुनेछ।

फाइनलमा नेपालले पिएनजी र मलेसियामध्ये एक टिमसँग भिड्नेछ। पिएनजी र मलेसियाबीच भोलि शुक्रबार प्रतिस्पर्धा हुँदैछ। भोलि पिएनजीले मलेसियालाई हराएर पर्सी नेपालले मलेसियालाई हराए पिएनजी फाइनलमा पुग्नेछ। मलेसियालाई फाइनल पुग्न भोलि पिएनजी वा पर्सी नेपालविरूद्ध मध्ये एक खेल जिते पुग्छ। बिहीबार त्रिवि मैदानमा नेपालले दिएको २०४ रनको लक्ष्य पछ्याएको पिएनजी २ बल खेल्न बाँकी छदा १६६ रनमा अलआउट भयो।

करणले अन्तिम ओभरको दोस्रो, तेस्रो र चौथो बलमा तीन विकेट लिँदै ह्याट्रिक गरेका थिए। उनले चाड सोपरलाई २ रन, अताइ र पोकनालाई शून्यमा आउट गरे। उनले सोपर र पोकनालाई क्याच गराउँदा अताइलाई बोल्ड गरे। पिएनजीका लागि चार्ल्स अमिनीले ६२ रन जोडे। उनले ४७ बलमा ९ चौका प्रहार गरे। टोनी उरा ४३ रनमा आउट भए। त्यसअघि ओपनरद्वय असद भाला र लेगा सिएका १-१ रनमा आउट भए। दुवैलाई नेपालका करण केसीले आउट गरेका थिए।
केसीले सिएकालाई आउट गर्दै टी-२० अन्तर्राष्ट्रियमा ५० विकेट पूरा गरेका थिए। सेसे बाउ २५ रन र नोर्मान भानुआ १७ रनमा आउट भए। दुवैलाई अबिनास बोहराले १८ ओभरको दोस्रो र तेस्रो बलमा आउट गरे। बलिङमा नेपालका करणले ह्याट्रिकसहित पाँच विकेट लिए। उनले ३.४ ओभरमा २१ रन दिए।