पूजा शर्मा भन्छिन : पत्रकार र पुलिस कहिल्यै आफ्नो हुँदैन, धेरै निकट हुँदा पनि कहिलेकाहीं घात हुँदोरहेछ
अभिनेत्री पूजा शर्मा पछिल्लो महिना आफू अभिनित फिल्म ‘म यस्तो गीत गाउँछु २’ले चर्चामा रहिन् । यसबाहेक फिल्मका नायक पल शाह प्रकरणलाई लिएर पनि उनको नाम चर्चामा रह्यो ।
झण्डै दुई महिना फिल्म चलाउन दौडधुप गरेकी पूजा त्यसपछि बिहीबार पहिलोपटक सार्वजनिक कार्यक्रममा उपस्थित भइन् । ‘नथिया’ बोलको म्युजिक भिडियो लञ्च कार्यक्रममा सहभागी भएकी उनले पछिल्लो पटकको दौडधुपको अनुभव सेयर गरिन् ।
‘मैले यो वर्ष धेरै कुरा सिकिसकें । पत्रकार र पुलिस कहिल्यै आफ्नो हुँदैन,’ पूजाले भनिन्, ‘अब त म पत्रकारलाई सही कुरा भन्दै भन्दिनँ । सबै मान्छेलाई आ-आफ्नो ठाउँमा राख्नुपर्दोरहेछ । नजिक पनि होइन, टाढा पनि होइन । धेरै निकट हुँदा पनि कहिलेकाहीं घात हुँदोरहेछ । त्यो पाठ मैले सिकें ।’
उनले अगाडि भनिन्, ‘दुईतीन दिनमा मैले के गर्दैछु भनेर तपाईंले आफैं थाहा पाउनुहुनेछ ।’