ऋषि धमलाले बुझाए प्रेस काउन्सिललाई स्पष्टीकरण


हवाई उडानको प्रोटोकल विपरित विमानभित्रै अवाञ्छित गतिविधि गरेको आरोप लागेका सञ्चारकर्मी ऋषि धमलाले प्रेस काउन्सिल नेपाललाई स्पष्टीकरण पत्र बुझाएका छन् । काउन्सिलले मंगलबार धमलालाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणबाट नेपाल फर्किने क्रममा धमला अनुमति बिना विमानभित्र प्रधानमन्त्री बस्ने कक्षमा जबर्जस्ती घुस्ने प्रयास गरेका थिए ।

qvcCXa0fQHY

धमलाले स्पष्टीकरण पत्र बुझाएको र त्यसबारे अध्ययन गरिने काउन्सिलका प्रवक्ता दीपक खनालले जानकारी दिए । काउन्सिलको टोली सुर्खेतबाट काठमाडौं आइरहेको र काउन्सिलको बैठक बसेर आवश्यक निर्णय गरिने उनको भनाई छ ।

गत चैत २० गते प्राइम टिभी र युट्युव च्यानलबाट प्रसारित ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा ‘काठमाडौं उत्रिएपछि विमानस्थलबाटै ऋषि धमलाको रिपोर्टिङ, सेक्युरिटीले रोकेपछि यस्तोसम्म भयो’ शीर्षक दिई विमान भित्रबाटै प्रत्यक्ष प्रसारण गरेको सामग्रीप्रति काउन्सिलले उनलाई स्पष्टीकरण सोधेको थियो ।

साथै काउन्सिलले यसअघि नेपाल बार एशोसियसनको बैठकस्थलमा जबर्जस्ती घुसेर धमलाले प्रत्यक्ष प्रशारण गरेको घटनालाई नोटिसमा लिएको काउन्सिलले जनाएको थियो । ‘सञ्चारकर्मी धमलाले आफूले नियतबस काम नगरेको र विमान रोकिएको बेलामा प्रधानमन्त्री बिमानबाट ओर्लिन लागेको भिडियो खिच्न खोजेको बताएका छन् । उनले स्पष्टीकरण पत्र बुझाएको बताउँदै भने– ‘मैले स्पष्टीकरण पत्र पठाइसकेको छु, मैले नियतबस त्यस्तो गर्न खोजेको हैन, एउटा पत्रकारको नाताले प्रधानमन्त्री भारत भ्रमणबाट आएपछि उहाँ यसरी विमानबाट ओर्लिदै हुनुहुन्छ भनेर देखाउन खोजेको हो ।’

qvcCXa0fQHY

धमलाले भने, ‘मैले विमान रोकिएर सबै भिआइपीहरु, प्यासेन्जरहरू ओर्लिन लागेपछि काम गरेको हो । प्लेन उढिरहेको बेलामा हैन, प्लेन रोकेको बेला प्रधानमन्त्रीसँग कुरा गर्न पाइने अन्तर्राष्ट्रिय अभ्यास अनुसार नै मैले देखाउन खोजेको हो, मान्छेहरुले कुरो नबुझेर मात्रै यस्तो भएको हो ।’

काउन्सिल स्रोतका अनुसार छिटो समाचार दिन खोज्दा गल्ती भएको भन्दै स्पष्टीकरण पत्रमा सञ्चारकर्मी धमलाले आइन्दा त्यस्तो गल्ती नदोहोर्याउने प्रतिबद्धता जनाएका छन् । धमलाको पत्रमाथि बैठक बसेर काउन्सिलले आवश्यक निर्णय गर्नेछ ।