चरित्रहत्या भएपछि जश्मिन ओझा पुगिन् प्रहरी चौकी – दिइन् जाहेरी !


नायक पल शाह प्रकरण लगभग २ महिना हुँदा पनि अहिले पनि उतिकै चर्चामा छ। नाबालिका गायिकालाई न्यायालयको बाटो देखाएकै कारण अधिकारवादी जश्मिन ओझा पलका समर्थक सामाजिक सञ्जाल प्रयोगकर्ता र युट्युबरहरुले आफ्नो चरित्रहत्या गरेको भन्दै ओझाले आज नेपाल प्रहरीको साइबर ब्यूरोमा जाहेरी हालेकी छिन् ।

सामाजिक सञ्जाल फेसबुक तथा युट्युब लगायतका माध्यमबाट आफू विरुद्धका सामाग्री प्रकाशन र प्रसारण हुने अनि त्यस्ता भ्रामक सामाग्रीमा अश्लिल प्रतिकृयाहरु आउने क्रम झन् बढेपछि ओझाले प्रहरी गुहारेकी छिन् । उनीमाथि डलरका लागि कथित पीडित बनाएर बालिकालाई उचालेको र शाहलाई फसाएको भन्दै पलका समर्थकहरुले गाली गर्ने गरेका छन् । ओझाले कुनै व्यक्तिगत सामाग्री फेसबुकमा लेखे पनि उनलाई गालीको वर्षा हुने गरेको छ ।

पीडित भनिएकी बालिका र उनका बाबुले समेत अदालतमा बकपत्र गर्दा बयान फेरेपछि अझ ओझामाथि प्रहार बढेको छ । अधिकारवादीको आवरणमा ओझाले गरेको षड्यन्त्रमा लागेर पहिले बालिका र उनका बाबुले झुटो जाहेरी दिएर फसाएको र अहिले बल्ल सत्य बोलेको भन्दै युट्युबरहरुले एक प्रकारको ह्विम चलाई रहेका छन् । उनीहरु सत्यको जीत हुन्छ भन्दै पलको पक्षमा सामाजिक सञ्जाललाई तताइ रहेका छन् । तनहुँ जिल्ला अदालत र नवलपुर अदालतमा विचाराधीन अवस्थामा रहेको मुद्धामा पीडितले बयान फेरेको भएता पनि कानून नमर्ने दृढता ओझामा रहेको छ । अदालतमाथि आफू पूर्ण विश्वस्त रहेको भनाई उनको छ ।