यौन दुर्व्यवहार आरोपबारे प्रश्न सोध्दा जंगिए केशव स्थापित: भन्छन यु आर नाइस लेडी, तर थुतुनो ठीक भएन


काठमाडौं महानगरपालिकामा नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापितले एक कार्यक्रममा आफूलाई प्रश्न गर्ने अभियानकर्मीलाई दुर्व्यवहार गरेका छन्।

धुम्बाराहीस्थित नेशनल कलेजले बिहीबार आयोजना गरेको ‘स्थानीय चुनावमा युवाको आशा र जिज्ञासा’ नामक अन्तरक्रिया कार्यक्रममा उनीमाथि लागेको यौनदुर्व्यवहारको आरोपबारे प्रश्न सोध्दा अभियानकर्मी भावना राउतलाई स्थापितले दुर्व्यवहार गरेका हुन्।

काठमाडौं महानगरका उम्मेदवारहरूलाई बोलाइएको उक्त अन्तरक्रिया कार्यक्रममा सहभागी राउतले ‘मिटु’ अभियानका क्रममा उनीमाथि लागेको आरोपबारे जिज्ञासा राखेकी थिइन्। ‘केशव स्थापितलाई मिटु अभियानका क्रममा लागेको यौन दुर्व्यवहार आरोपबारे मलाई आफैं प्रश्न सोध्न मन थियो। त्यसैले मैले उहाँलाई उक्त आरोपबारे सोधेकी थिएँ,’ राउतले सेतोपाटीसँग भनिन्।