सर्लाहीमा पहिलो पटक महिला मेयर कल्पना कटुवाल निर्वाचित भएकि छिन् ।
बरहथवा नगरपालिकाको मेयरमा निर्वाचित हुँदै नेकपा एमालेकी कल्पना कुमारी कटुवाल सर्लाहीमा पहिलो महिला पालिका प्रमुख बनेकी छिन् । त्यस्तै उपप्रमुखमा पनि एमालेका रामबाबु प्रसाद साह निर्वाचित भएका छन् । स्थानीय तहको व्यवस्था भएयता साह पहिलो पुरुष उपप्रमुख हुन् । पालिकाको प्रमुख र अध्यक्ष भन्ने वितिकै पुरुष तथा उपप्रमुख र उपाध्यक्ष भन्ने वितिकै महिला हुन्छन् भन्ने आम प्रचलनलाई तोड्दै बरहथवामा एमालले महिलालाई प्रमुख र पुरुषलाई उम्मेद्वार बनाएको थियो भने बरहथवाका मतदाताले पनि कटुवाललाई प्रमुख र साहलाई उपप्रमुखमा निर्वाचित गरेर सर्लाहीमा हालसम्मको ईतिहाँसलाई नयाँ रेकर्ड बनाएका छन् ।
एमालेकी कटुवालले निवर्तमान मेयर समेत रहेका नेकपा माओवादी केन्द्रका प्रत्यासी देवानन्द महतोलाई झण्डै दोब्बर मतान्तरले पराजित गरिन् । कटुवालले १२ हजार २७३ मत ल्याउँदा निकटतम् प्रतिद्वन्द्वी महतोले ६ हजार ६६६ मत मात्र पाए । त्यस्तै उपप्रमुखमा एमालेका साह ९ हजार ९०१ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी गंगा दाहालले ७११९ मत पाईन् ।
बरहथवा नगरपालिकाको मतगणना आईतबार राती सम्पन्न भएको निर्वाचन अधिकृत दशरथ पंगेनीले जानकारी दिएका छन् । बरहथवाको मतगणना सम्पन्न भएसँगै सर्लाहीमा २० वटै पालिकाले नयाँ जनप्रतिनिधि पाएको छ । बरहथवा नगरपालिका–१७ मा जेठ ३ गते पुनः मतदान भएकाले बरहथवा नगरपालिकाको मतपरिणाम आउन ढिलाई भएको हो ।
प्रतिक्रिया