जित-हारलाई मतगणना सकिएसँगै सकिदिऔँ : वालेन्द्र साह


मेयरका स्वतन्त्र उम्मेदवार वालेन्द्र साह(बालेन)ले घोषणापत्रमा भएका कुरा लागू गर्न सके मात्र विजय उत्सव मनाइने बताएका छन् । काठमाडौंको मेयरमा जित सुनिश्चित भएसँगै बालेनले जित र हारको कुरा मतगणना सकिएसँगै छाड्नुपर्ने बताएका छन् । बुधबार बिहान उनले फेसबुक पेजमा लेखेका छन्, ‘जित-हारलाई मतगणना सकिएसँगै सकिदिऔँ । घोषणापत्रमा भएका कुराहरु लागू गर्न सकेका दिन सबै मिलेर विजय उत्सव मनाउँला । तर अहिले विजय जुलुस भनेर अरुलाई पराजित भन्ने संकेतसम्म पनि नगरौँ ।’

काठमाडौं महानगरको जिम्मेवारी बोक्न आफूहरू योग्य भएको कुरा मतदाताको विश्वासले पनि पुष्टि भएको उनले बताएका छन् । उनले भनेका छन्, ‘स्थानीय तह निर्वाचन २०७९ मा हामीलाई मत दिने, समर्थन गर्ने तथा निर्वाचन प्रक्रियामा सामेल हुने सबैलाई धन्यवाद छ ।

अहिले यति भन्न सकिन्छ कि, हामी काठमाडौं महानगरको जिम्मेवारी बोक्न योग्य छौँ भनेर महानगरका मतदाताहरुले हामीलाई विश्वास गर्नु भएको छ । यहाँ विश्वासको कुरा छ । विश्वासमा जित वा हार हुँदैन ।’ चुनावपछि सबैसँग सहकार्य गरिने पनि उनले बताएका छन् । चुनावमा जित्नेले बहुमत नभई धेरै मत ल्याउने मात्र भएको उनले बताएका छन् । ‘यसै पनि चुनावमा जित्नेले धेरै मत ल्याउने हो, बहुमत होइन । हाम्रो स्वयंको पनि बढीमा ३५ प्रतिशत मत आउला । यसको अर्थ हो, बदर मतहरु बाहेक बाँकी ५० प्रतिशत जति मतदाताहरुले अरुलाई छनौट गर्नु भएको छ । हामीलाई मत हाल्ने ३५ प्रतिशतको शिर उँचो पार्दै गर्दा बाँकी ५० प्रतिशतको शिर निहुराउनु पर्ने काम वा संकेत भएको छ कि भन्नेमा ध्यान दिनु पर्छ । र, महानगरको उन्नतिका लागि सबैसँग सहकार्य गर्नु नै पर्छ,’उनले भनेका छन् ।

काठमाडौंको मुहार फेर्नलाई सबै मिलेर अगाडि बढ्नुपर्ने उनको भनाइ छन् । उनले अबको बाटो सहज नभएको र आफूहरूको वास्तविक अभियानको परीक्षा सुरु हुने बताएका छन् । उनले भनेका छन्, ‘अबको बाटो सहज छैन । हाम्रो अभियानको वास्तविक परीक्षा अब सुरु हुनेछ ।

हामीले हिँड्ने सही बाटो, चाल्ने उपयुक्त कदम र गर्ने अधिकतम सत्प्रयासहरूले हाम्रो अभियान र महानगरको उन्नतिलाई प्रभाव पार्नेछ । हामीलाई साथ र सुझाव जति महत्त्वपूर्ण छ, उति नै खाँचो पर्नेछ खबरदारीको । हामीले बाटो बिराउन लाग्यौँ भने खबरदारी गर्नुहोला ।’ उनले आफूहरूको अभियानलाई देशव्यापी बनाउन पनि आवश्यक भएको बताएका छन् । उनले भनेका छन्, ‘अहिलेलाई यो अभियानलाई देशव्यापी बनाउने प्रयास गरौँ । हरेक टोलटोल र गाउँगाउँमा ‘बालेन’हरु भेटिउन् जसले केवल जनमतका आधारमा परिवर्तनको जिम्मेवारी बोक्न सकून्, अवसर पाउन सकून् ।’