कार्यालय सहयोगी नै बने वडा अदक्ष्य


तीन महिना अघिसम्म चन्द्रबहादुर गुरुङ राप्ती गाउँपालिका वडा नं‍. ८ को कार्यालय सहयोगी थिए । बिहानै ९ बजे कार्यालय पुग्थे, सरसफाइ गर्थे, जनप्रतिनिधि र कर्मचारीहरुलाई चिया–पानी पुर्याउने काम गर्दथे ।दिनभरको समयमा उनी वडामा आएका सेवाग्राहीलाई सोधपुछ गर्थे र कामकाजमा सघाउँथे ।

तिनै ३२ वर्षका चन्द्रबहादुर ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनबाट वडाध्यक्षमा निर्वाचित भएका छन् । संयोग पनि कस्तो भयो भने जुन कार्यालयमा उनी सहयोगी थिए, अहिले त्यही वडाको अध्यक्ष बने । चन्द्रबहादुरलाई त्यहाँका जनताले मत दिएर कार्यालय सहयोगीबाट एकैपटक नेतृत्व गर्ने ठाउँमा पुर्‍याइदिएका छन् ।

वडाध्यक्ष हुनु उनी स्वयमका लागि अनपेक्षित हुन गयो । उनी राजनीतिदेखि टाढा थिए । कुनै पार्टीमा थिएनन् । तर एमाले निकट कर्मचारी संगठनमा भने आवद्ध रहेका थिए । एमालेले उनै चन्द्रबहादुरलाई वडाध्यक्षको उम्मेदवार बनाएको छ ।

उम्मेदवार टुंगो नलागुन्जेलसम्म उनी कार्यालयमा गएर दैनिक कामकाज गर्ने गर्थे । वडाध्यक्षमा उठ्ने चर्चा सुनेका धेरैले उनलाई वडाध्यक्ष हुने शुभकामना दिएका थिएन । ‘सबै काम जानेको र युवा नै उठ्नुपर्छ भनेर धेरैले हौस्याए’, उनले भने, ‘त्यही उर्जाले म निर्वाचनमा होमिएँ ।’ गत चैतमा उनले जागिरबाट राजिनामा दिएर चुनावी तयारी थाले ।

वडाअध्यक्षका लागि चन्द्रबहादुरसहित पाँच जनाको नाम सिफारिस भएको थियो । जसमा निर्वतमान अध्यक्ष गोकर्णबहादुर रानामगर पनि थिए । त्यही कारण उनले टिकट पाउने सम्भावना धेरै कम थियो । तर अन्तिममा पार्टीले उनलाई नै उम्मेदवार बनायो ।विदेश जाने तयारीमा थिए, वडाध्यक्ष बने