अबको दुई साताभित्र डिजिटल अडिसन बन्द


बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा बजाज पल्सरका तर्फबाट गोल्छा ग्रुपका प्रबन्ध निर्देशक अभिमन्यू गोल्छा र भ्वाइस अफ नेपालका तर्फबाट हिमालय टेलिभिजनका तर्फबाट अध्यक्ष धर्मराज भुसाल एवं कार्यकारी निर्देशक श्याम कँडेलबीच टाइटल स्पोन्सरसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

टाइटल स्पोन्सरका रुपमा अनुबन्ध भएसँगै द भ्वाइस अफ नेपालको यो श्रृङ्खलालाई ‘बजाज पल्सर प्रिजेन्ट्स द भ्वाइस अफ नेपाल सिजन ४’ का रुपमा उल्लेख गरिने छ । नेपालको युवापुस्तामा अति नै लोकप्रिय भ्वाइस अफ नेपालको टाइटल स्पोन्सरमा अनुबन्ध हुन पाउनु पल्सरका लागि गौरवको विषय भएको गोल्छा ग्रुपका प्रबन्ध निर्देशक गोल्छाले बताए । पल्सर पनि युवापुस्ताको ब्राण्ड भएकाले भ्वाइस र पल्सरबीचको सहकार्य अर्थपूर्ण रहेको उनको भनाइ थियो ।कार्यक्रममा हिमालय टेलिभिजनका अध्यक्ष भुसालले बजाज पल्सरलाई टाइटल स्पोन्सरका रुपमा पाउनु भ्वाइस अफ नेपाल र हिमालय टेलिभिजनका लागि महत्वपूर्ण रहेको बताए ।

नेपाली गीतसँगीत क्षेत्रको प्रर्बद्धन एवं नयाँ प्रतिभाहरुको खोजीमा दुईवटा ब्राण्डको सहकार्यले दीघकालीन अर्थ राख्ने उनको भनाइ थियो। हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको द भ्वाइस अफ नेपाल देशकै सवैभन्दा धेरै दर्शक भएको नम्बर एक रियालिटी शो हो । चौथो सिजनका लागि डिजिटल अडिसन सुरु भइसकेको छ जहाँ अहिलेसम्म हजारौं प्रतिभाहरुले द भ्वाइस अफ नेपाल सिजन ४ को उपाधि जित्ने आकांक्षासहित आवेदन दिइसकेका छन् ।

अबको दुई साताभित्र डिजिटल अडिसन बन्द भई कार्यक्रम उत्पादनको तयारी तिब्र पारिने टेलिभिजनका कार्यकारी निर्देशक कँडेलले जानकारी दिए ।डिजिटल अडिसनमा सहभागी प्रतिभाहरुको थप परीक्षण र छनौटपछि कुल १ सय २० जना प्रतिभाहरुले कोचका अगाडी ब्लाइन्ड अडिसनमा प्रस्तुती दिन पाउनेछन् । ब्लाइन्ड अडिसनमा कोचको कुर्सी घुमाउन सफल प्रतिभाहरुको सांगीतिक यात्रा त्यही विन्दुबाट सुरु हुने छ । छानिएका ६४ जना प्रतिभाहरु ब्याटल राउण्डमा प्रतिस्पर्धा गर्नेछन् ।

कार्यक्रम आगामी साउन महिनादेखि हरेक शुक्रबार र शनिबार राति ८ बजे प्रसारण हुनेछ ।