दुर्घटनामा मृत्यु भएकाहरुको शवलाई काठमाडौं ल्याइने (भिडियो)


तारा एयरको जहाज दुर्घटनामा मृत्यु भएकाहरुको शव सिधै काठमाडौं ल्याइने भएको छ । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको दुर्घटनाग्रस्त जहाज भएको स्थानमा अहिले शव सुरक्षाकर्मीको टोली संकलन गरिरहेका छन् । चालक दलका तीन सहित २२ जना सवार जहाज आज बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ को सानोसरे भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।

आइतबार बिहानदेखि सम्पर्कविहीन जहाज क्षतिविक्षत अवस्थामा आज बिहान गोठाला र स्थानीयवासीको टोलीले भेटाएका हुन् । कोवाङबाट हेलिकप्टरबाट गएका नेपाली सेना सहित सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र शेर्पाको टोली घटनास्थल पुगेका छन् । यात्रुको अवस्था पहिचान, सुरक्षित रहेका सामान सङ्कलन र मुचुल्का तयार पारेपछि शवहरु हेलिकप्टरबाट सिधै काठमाडौं ल्याइने छ ।

थासाङ गाउँपालिकाको केन्द्र कोवाङदेखि न्याउरीकोट हुँदै करिब चार घण्टा हिँडेपछि पुगिने मानापाथी हिमालको फेदीमा रहेको पहाडमा जहाज ठोक्किएर टुक्राटुक्रा परेको अवस्थामा भेटिएको छ । कुहिरो लागेको र प्रतिकुल मौसमका कारण आइतबार दिनभर जहाज खोज्ने प्रयास सफल भएको थिएन् । यार्सागुम्बा सङ्कलन गर्न गएका र गोठालाले नजिकैबाट उडेको जहाज पहाडमा ठोक्किएको आवाज सुनेको खबर गरेका थिए । काठमाडौँबाट सेनाका उद्धारकर्ता आवश्यक सामग्रीसहित हेलिकप्टरबाट आइतबार नै मुस्ताङ पुगेका थिए ।