बहुप्रतिक्षित नेपाली चलचित्र ;कबड्डी ४’ हेर्न जापानको टोक्योमा नेपाली दर्शकको ओइरो लागेको छ। आइतबार टोक्योको नाकानोस्थित नाकानो जेरो हलमा प्रदर्शित शो मा थामी नसक्नु दर्शकको भिड लागेको हो। १ हजार ३ सय सिट संख्या रहेको हलमा सिट संख्याभन्दा दर्शकको संख्या बढी भएपछि आयोजकलाई व्यवस्थापन गर्न हम्मेहम्मे पर्यो। उपस्थित केही दर्शकले आयोजकको व्यवस्थापनप्रति गुनासो समेत गरे। कतिपय दर्शकहरू टिकट नपाएर निरास बनि फर्किए।
कतिले भुईंमै बसेर र उभिएरै चलचित्र हेरे। ‘हामीले नसोचेको दर्शक आईदिनुभयो, गर्दै वितरक सुभाष लामिछानेले भने,’ व्यवस्थापनमा हाम्रो कमजोरी भएकै हो यसलाई पाठको रुपमा लिएर अघि बढ्ने छौं।’ आउँदा दिनहरूमा व्यवस्थापनमा बिशेष ध्यान दिने समेत लामिछानेले बताए। पहिलोपटक जापानमा नेपाली चलचित्र हेर्न पाउँदा आफूलाई निकै रमाइलो लागेको रौतहटकी उर्वशी नेपालले प्रतिक्रिया दिइन्।एक महिनाअघि मात्र जापान आएकी उनले चलचित्र हेर्ने दर्शक यति धेरै होला भन्ने कल्पना समेत नगरेको बताइन्। नेपालमा राम्रो व्यापार गरिरहेको चलचित्र कबड्डी ४ ले जापानमा पनि उल्लेख्य दर्शकको साथ पाइरहेको छ।
दयाहांग राई, सौगात मल्ल, बुद्धि तामांग, मिरूना मगरलगायत चर्चित कलाकारको अभिनय रहेको चलचित्रलाई राम बाबु गुरुंगले निर्देशन गरेका हुन्।
प्रतिक्रिया