आफ्नै डेरामा मृत भेटिएकी गायिका दिलमाया सुनारको मृत्युको घटनाको निष्पक्ष छानबिन गर्न लोकदोहोरी कलाकारहरुले माग गरेका छन् । उनीहरुले सुनारको मृत्युलाई लिएर थप रहस्य बाहिर आएको भन्दै घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै बालाजु प्रहरी वृत्तमा दबाब दिएका छन् । राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका उपमहासचिव शिव हमालले घटनाबारे निष्पक्ष र सत्यतथ्य अनुसन्धान हुनुपर्ने आफूहरुको माग रहेको बताए । झण्डै डेढ सय लोकदोरी कलाकार अहिले बालाजु चौकीमा भेला भएका छन् ।
उनका अनुसार मृतक सुनारको परिवारले प्रहरीमा जाहेरी दिने तयारी छ । बालाजु वृत्तका डीएसपी गौतम मिश्रले जाहेरीपछि अनुसन्धान अघि बढ्ने बताए । ‘हामीले घटनाबारे बुझ्ने काम गरिरहेका छौं । उहाँको परिवारसँग कुराकानी र जाहेरीपछि हामी घटनाबारे सार्वजनिक गर्छौं,’ उनले भने । दिलमायाका परिवार सुर्खेतबाट आजै काठमाडौंमा आइपुगेका छन् । दिलमाया सुर्खेत प्रतिष्ठानकी सदस्य समेत हुन् । प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको राष्ट्रिय लोकदोहोरी प्रतियोगितामा समेत उनी उत्कृष्ट भएकी थिइन् ।
शुक्रबार राति १ बजे २० मिनेटमा दिलमायाको फेसबुकबाट सुसाइड नोटजस्तो लाग्ने स्टाटस पोस्ट भएको थियो । शनिबार बिहान पौने ११ बजे उनी कोठामै मृत भेटिएकी थिइन् ।प्रहरीले दिलमायाका प्रेमी भनिएका सूर्य श्रेष्ठलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको छ । शुक्रबार बिहानै सूर्य दिलमायाको कोठामा पुगेको आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
प्रतिक्रिया