परराष्ट्रमन्त्री नारायण खड्काले नेपाललाई कुनै पनि सामरिक वा रणनीतिक गठबन्धनमा प्रवेश नगराउने जानकारी दिएका छन् । राष्ट्रिय सभाको सोमबारको बैठकमा विनियोजन विधेयक, २०७९ मा परराष्ट्र मन्त्रालयअन्तर्गत उठेका प्रश्नको जवाफ दिँदै परराष्ट्रमन्त्री खड्काले नेपालको राष्ट्रिय हित र असंलग्न परराष्ट्र नीतिको विपरीत हुने कुनै पनि सामरिक वा रणनीतिक गठबन्धनमा नेपाललाई प्रवेश नगराइने बताएका हुन् ।
सरकारले अवलम्बन गरेका नीतिका कारण अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रतिष्ठा बढेको बताउँदै मन्त्री खड्काले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति थप प्रभावकारी देखिएको बताएका छन् । ‘नेपालको राष्ट्रिय हित र नेपालले अवलम्बन गर्दै आएको असंलग्न परराष्ट्र नीतिविपरीत हुनेगरी कुनै सामरिक वा रणनीतिक गठबन्धनमा नेपाल प्रवेश नगर्ने यस सम्मानित सदनसमक्ष अनुरोध गर्न चाहन्छु । सरकारले अवलम्बन गरेको नीतिको फलस्वरुप अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रतिष्ठा अझ बढेको छ,’ उनले भने, ‘छिमेकी मित्रराष्ट्र, दक्षिण एसियाली मुलुक, प्रमुख शक्तिराष्ट्र, विकास साझेदारलगायत सबै राष्ट्रहरूसँगको सम्बन्ध अझ मैत्रीपूर्ण एवं सहयोगात्मक बनेको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा तथा उपक्षेत्रीय मञ्चमा नेपालको उपस्थिति थप प्रभावकारी देखिएको छ ।’
अन्तर्राष्ट्रिय सीमाको नियमित रूपमा निरीक्षण गर्नेगरी सरकारले कार्यक्रम तय गरिएको पनि मन्त्री खड्काले बताए । लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायतका नेपाल, भारत सीमा सम्बन्धी समस्या समाधानका लागि सरकारले भारतसँग कूटनीतिक स्तरमा वार्ताको प्रयास भइरहेको उनले जानकारी दिए । ‘राजनीतिक तथा कूटनीतिक भेटघाट तथा भ्रमणको आयोजना गर्दा नेपालले अवलम्वन गर्दै आएको स्वतन्त्र र सन्तुलित परराष्ट्र नीतिलाई ध्यानमा राखेर नै गरिने व्यहोरा म यस सम्मानित सदनसमक्ष निवेदन गर्न चाहन्छु,’ उनले भने, ‘मुलुकको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वतन्त्रता, स्वाधिनता, सीमानाको सुरक्षा, सीमा व्यवस्थापन जस्ता विषयहरुमा सरकार गम्भीर रहेको व्यहोरा म सम्मानित सदनसमक्ष निवेदन गर्न चाहन्छु । अन्तर्राष्ट्रिय सिमाको नियमित रुपमा निरीक्षण गर्नेगरी कार्यक्रम तय भएका छन् । लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायतका नेपाल, भारत सीमा सम्बन्धी नसुल्झिएका विषयहरुलाई सुल्झाउनका लागि कुटनीतिक स्तरमा वार्ता गर्न नेपालको तर्फबाट भारत सरकारसमक्ष निरन्तर प्रयास हुँदै आइरहेको छ ।’
मुलुकको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वतन्त्रता, स्वाधिनता, सीमानाको सुरक्षा र सीमा व्यवस्थापन जस्ता विषयहरूमा सरकार गम्भीर रहेको परराष्ट्रमन्त्री खड्काको भनाइ थियो ।
प्रतिक्रिया