विपद्को सामाना गर्न सशस्त्र प्रहरी बलले थाल्यो तयारी


काठमाडौं : मनसुनजन्य विपद् व्यवस्थापनको लागि सशस्त्र प्रहरीले बल नेपालले तयारी सुरु गरेको छ । सशस्त्र प्रहरीले विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा निरन्तर रुपमा विपद् व्यवस्थापन तालिम सञ्चालन गरिरहेको हो ।

हालसम्म २ हजार ३४ जना सशस्त्र प्रहरी कर्मचारीहरुलाई बिशिष्टिकृत विपद् व्यवस्थापन तालिम प्रदान गरिएको छ ।

विपद् व्यवस्थापन तालिम प्राप्त जनशक्तिहरुलाई काठमाडौं उपत्यका भित्र दुई स्थानसहित सातवटै प्रदेशमा विपद् उद्धार टिम र विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार गरि जम्मा १० स्थानमा दक्ष तालिम प्राप्त जनशक्ति तयारी हालतमा राखिएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बलको सम्पूर्ण कार्यालयहरुमा जल उत्पन्न प्रकोप प्रति कार्यका लागि खोज तथा उद्धारका आधारभूत उपकरणहरु सहित चौबिसै घण्टा उद्धार टोली तयारी अवस्थामा राखिएको छ ।

‘विपद् उद्धारका आधुनिक सामाग्रीहरुलाई प्रदेश स्तरीय विपद् उद्धार टिमले प्रयोग गर्नेगरी तयारी हालतमा राखिएको साथै काठमाडौं उपत्यकालाई मध्यनजर गरी सिनमंगल स्थित नं. २० गण मुख्यालयलाई तयारी हालतमा राखिएको,’ सशस्त्र प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।