बैठकले केन्द्रीय गठबन्धनको निर्णयविना मुख्यमन्त्री राजेन्द्र पाण्डेले राजीनामा नदिने


शनिबार बसेको एकीकृत समाजवादी बागमती प्रदेशको संसदीय दलको बैठकले केन्द्रीय गठबन्धनको निर्णयविना मुख्यमन्त्री राजेन्द्र पाण्डेले राजीनामा नदिने निर्णय गरेको छ।

प्रदेश सरकार पाँच दलीय गठबन्धनको सहमतिका आधारमा बनेकाले केन्द्रीय गठबन्धनको निर्णयविना तत्काल मुख्यमन्त्री पाण्डेले राजीनामा नदिने निर्णय बैठकले गरेको हो ।

बैठकपछि संसदीय दलका उपनेता कृष्ण खनालले भने, ‘केन्द्रीय गठबन्धनले जे फैसला गर्छ त्यही हुन्छ । तलका हल्लाले केही फरक पर्दैन । केन्द्रीय गठबन्धनले मिलाएर जाउँ भनेमा मुख्यन्त्रीले राजीनामा दिनुहुन्छ नत्र राजीनामा सम्भव छैन ।’

नियमित प्रकियाअन्तर्गत संसदीय दलको बैठक बसेको जानकारी दिँदै उनले मुख्यमन्त्रीको राजीनामाको विषयबारे कुरै नभएको पनि बताएका छन् । उनका अनुसार यस विषयमा छलफलका लागि कार्य तालिका नै थिएन ।

शनिबार बसेको बैठकले प्रदेश सरकारको बजेट कार्यान्वयन र आगामी चुनौतीबारे छलफल गरेको बताए । साथै, आगामी निर्वाचनबारे पनि छलफल भएको बताए ।