अभिनेत्री ढुंगाना र ज्योतिषी हरिहर अधिकारीबीच आगामी शुक्रबार बिहे
१९ असार । अभिनेत्री नीता ढुंगाना र ज्योतिषी तथा अभिनेता हरिहर अधिकारीबीच आगामी शुक्रबार बिहे हुँदैछ । असार २४ गते हुने बिहे समारोहका लागि उनीहरुले निम्तो पत्र पनि वितरण गरिरहेका छन् ।
सार्वजनिक भएको बिहे कार्डका अनुसार उक्त मितिमा दरबारमार्गस्थित होटल याक एन्ड यतिमा बिहान १० बजेदेखि बैवाहिक कार्यक्रम सुरु हुनेछ । बिहेमा आफन्त र परिवारलाई मात्र बोलाइएको छ ।
उनीहरुको रिसेप्सनको लागि बलिउड अभिनेता तथा ‘गजनी’ फेम्ड भिलेन प्रदीप रावत पनि नेपाल आउने चर्चा छ । चार वर्षअघिको प्रेमलाई उनीहरुले बिहेमा परिणत गर्न लागेका हुन् । यतिबेला दुबैजना सपिङ र बिहेको तयारीमा जुटेका छन् ।
बिहेलगत्तै हरिहर र नीता दुबैजना निर्माण हुन लागेको फिल्म ‘ह्रस्वदीर्घ’मा व्यस्त हुनेछन् । यो फिल्मलाई उनीहरुले आफ्नो स्वप्न प्रोजेक्ट बताउँदै आएका छन् ।