साढे दुई महिनामा १०१ जनाले ज्यान गुमाए


काठमाडौं : विपद्का घटनामा परी पछिल्लो साढे दुई महिनाको अवधिमा नेपालमा १०१ जनाले ज्यान गुमाएका छन् । २०७९ वैशाख १ गतेदेखि असार १८ गतेसम्मको अवधिमा विपद्का घटनामा परी उनीहरुको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार सो अवधिमा पहिरो, बाढी, भारी वर्षा, चट्याङ, सर्पदंश, आगलागी, जंगल आगलागी, हावाहुरी र जनावरको आक्रमणका घटनामा परी उनीहरुको मृत्यु भएको हो ।

२०७९ साल सुरु भएपछि सबैभन्दा बढीको मृत्यु चट्याङ लागेर भएको छ । चट्याङ लागेर पछिल्लो साढे दुई महिनाको अवधिमा ३९ जनाको मृत्यु भइसकेको छ ।

उक्त अवधिमा पहिरोमा परी ११, बाढीमा परी ३, भारी वर्षाका कारण ३, सर्पको टोकाइबाट ५, आगलागीमा परी २०, हावाहुरीका कारण ८ र जनावरको आक्रमणमा परी १२ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ ।

बितेको साढे दुई महिनाको अवधिमा विपद्का घटनामा परी ३ जना वेपत्ता भएका छन् ।