आउँदो गाईजात्राको तयारीमा जुटे जोगिन्दर


काठमाडौँ : शिव शंकर रिजाल (जोगिन्दर) आउँदो गाईजात्राको तयारीमा जुटेका छन् । यतिबेला गाईजात्राको रेकर्डिङमा व्यस्त जोगिन्दरले पार्टी विभिन्न स्थानमा सामग्री छायांकन समेत गरिरहेका छन् ।

‘जोगिन्दर बोले प्रणामजी’ को पहिलो एपिसोडमै तत्कालीन उर्जा मन्त्री प्रकाश शरण महतलाई गेस्ट बनाएर मैनबत्ती बालेर कार्यक्रम गरेपछि उनी प्रस्तोताको रुपमा स्थापित नै भएका थिए । पान पसलेको रुपमा प्रस्तुत हुने उनले आफ्नो क्यारेक्टरलाई मधेशको प्रतिनिधिको रुपमा अगाडि ल्याएका छन् ।

जोगिन्दरको उपनामले चर्चामा आएका शिव शंकरलाई त्यो नाम र क्यारेक्टर एक सर्ट फिल्मले दिएको हो । पछिल्लो समय ‘जोगिन्दर मुखियाजी’ कार्यक्रम ल्याइरहेका उनले गाईजात्रामा जोगिन्दर बनेर नै दर्शक समक्ष प्रस्तुत हुनेछन् । २०५९ सालमा पहिलोपटक गाईजात्राको क्यासेट निकालेका जोगिन्दरले त्यसलाई अहिलेसम्म निरन्तरता दिइरहेका छन् ।

‘हाम्रो कर्म नै यही हो । हास्यकलाकारहरूका लागि गाईजात्रा उत्सव तथा महान पर्व हो । त्यसैले यसलाई लक्षित गर्दै कर्म गर्न छोड्दिन’ उनले भनेका छन् ।

पछिल्लो समय गाईजात्रा लक्षित सामग्रीहरू निकै कम आउने गरेपनि जोगिन्दर यसलाई निरन्तरता दिने कोशिस गरिरहेका छन् । ‘यसपटक भिडियो सामाग्रीसँगै मोफसलमा स्टेज शोहरु पनि हुने उनले बताए।