जुत्ता सिलाउँने रामको रुवाउँने संघर्षको कथा


रमन वन/काठमाडौं : बानेश्वर नजिकैको फुटपाथ । खुला आकाश । न घाम छेकिन्छ न त पानी नै । कहिले त्यही फुटपाथबाट पनि नगर प्रहरीले आएर लखेट्छ ।

भएभरका सामान गाडीमा हालेर लगिदिन्छ । बाध्यता, फेरि त्यहीँ बसेर काम गर्नुको विकल्प छैन । काम नगरी साँझबिहान हातमुख जोड्न गाह्रो छ । यो दुखेसो हो–एक श्रमिकको ।

सर्लाहीका जयनारायण राम काठमामाण्डौंको नयाँ बानेश्वर—शंखमुल सडकको किनारामा जुत्ता सिलाउने काम गर्छन् । उनले जुत्ता सिलाउन थालेको ८ वर्ष भइसक्यो ।

बिहानै फुटपाथमा आएर बोरा ओछ्याएर आफ्ना सामग्री मिलाउने, ग्राहकका जुत्ता सिलाउने र पालिस लगाउने – रामको दिनचर्या यही हो । पुराना र फाटेका चुत्ता, चप्पल सिलाउन औंला चलाइरहन्छन् । प्रायः ग्राहकबाट उनी घेरिएका हुन्छन् । जुत्ता सिएरै उनले दैनिक ८ सय रुपैयाँसम्म कमाउँछन् । यसैबाट उनको गुजारा चल्छ ।

उनी सर्लाहीको बरहथवा नगरपालिका १ हजरीया नयाँ बजारमा जन्मिएका हुन्। उनी काठमाडौँ आएको पनि १० वर्ष पूरा भयो । यसबीचमा धेरै व्यवस्था फेरिए । ८ वर्षदेखि काठमाडौँ, बानेश्वर नजिकैको सडक किनारा अगाडिको फुटपाथमा जुत्ता सिलाउन थालेका रामको अवस्था भने ज्यूँका त्यूँ छ ।

गाउँमा थोरैतिनो जग्गा छ, रामको । त्यसबाट उब्जेको खेतीले वर्षभरी खान पुग्दैन। जुत्ता सिलाएर कमाउने पैसाले नै घरखर्चदेखि छोराछोरीको पढाइ खर्चसमेत टार्नुपर्छ । उमेरले ५४ वर्ष पुगेका रामका ५ छोराछोरी छन् ।

नेपालमा मनजस्तो रोजगारी छैन भन्दै वर्षेनी हजारौं युवा शक्ति वैदेशिक रोजगारीमा गइरहेका छन् । यसवीचमा नेपालमै केही गर्नुपर्छ भनेर लागि परेकाहरुलाई सरकारले साथ सहयोग गर्नु पर्ने उनी सुनाउँछन् ।

मेहनत गरे आफ्नै देशमा सुन फलाउँन सकिने उनको बुझाई छ । यो सहरमा जुत्ता सिलाएर जिविकोपार्जन गर्ने उनि मात्र हैन् उनिजस्ता धेरै छन् राम एक प्रतिनिधी पात्र मात्र हुन् ।

कुनै पनि काम सानो ठूला भन्ने हुँदैन । कामप्रतिको दृष्टिकोण र लगावले नै त्यसको महत्वलाई दर्शाउँछ । हरेक मानिसका बेग्लाबेग्लै कथा छन । कसैका दुःखका हुन्छन् त कसैका सुखका ।

कोही दुखसंग हार्छन् त कोही जितेर सुखमय जीवन बिताइरहेका हुन्छन् । खासमा दुःख र सुखको मिलन नै जीवन हो ।