नेपालको राजधानी काठमाडौं । जहाँ हरेक दिन एकजना व्यक्तिले ३१७ ग्राम फोहोर उत्पादन गर्छ । एसियाली विकास बैंकको सहयोगमा फोहोर मैला व्यवस्थापन तथा प्रशोधन केन्द्रले तयार पारेको विवरण हो । यो विवरण सन् २०१३ को हो ।
पछिल्ला दिनमा आइपुग्दा यसमा केही परिवर्तन भएको छ । एक जनाले दैनिक आधा किलो अर्थात् ५०० ग्राम बराबरको फोहोर उत्पादन गर्छ । त्यो फोहोरमा प्लास्टिकको मात्रा १२ प्रतिशत बराबर रहन्छ ।
काठमाडौँ उपत्यकाभित्र मात्रै दैनिक एक हजार १४० मेट्रिक टन बराबरको फोहोर उत्पादन हुन्छ । त्यो फोहोर कहाँ कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा सधैँको रडाको हुने गरेको छ ।
फोहोर विसर्जन गर्ने स्थानमा काठमाडौँ महानगरपालिकाले जबर्जस्ती गरेको गुनासो छँदैछ । फोहोर व्यवस्थापन नहुँदा काठमाडौँको सडक दुर्गन्ध हुने गरेको छ भने फोहोर व्यवस्थापनकै लागि करोडौँ रुपैयाँ खर्च पनि भइरहेको छ ।
सरकारले महानगरपालिकाको फोहोरलाई दीर्घकालीन रुपमा समाधान गर्ने नीति ल्याउने र कार्यान्वयन गर्ने हो भने फोहोरलाई सजिलै मोहोर बनाउन सकिन्छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका वरिष्ठ वैज्ञानिक डा रवीन्द्र ढकालका अनुसार त्यत्तिकै खेर फालिएको प्लास्टिकजन्य फोहोरबाटै दैनिक तीन लाख ४२ हजार लिटर बराबरको इन्धन उत्पादन गर्न सकिन्छ ।
नेपाल आयल निगमले इन्धन आयात गर्न नसकिने अवस्थामा पुगेको जनाइरहेको छ । पेट्रोलको प्रतिलिटर मूल्य रु १८१ पुगेको छ । त्यस्तै डिजेल प्रतिलिटर रु १७२ बराबर पुगेको छ ।
वरिष्ठ वैज्ञानिक डा ढकालसँगको जिज्ञासामा उनले भने, ‘सम्भव छ । सकिन्छ ।’ काठमाडौँ उपत्यकामा उत्पादन हुने फोहोरमध्ये ५७० टन फोहोर प्रशोधन हुन सक्छ । बाँकी रहेको ५७० टन प्लास्टिकजन्य फोहोर प्रशोधन गर्ने हो भने दैनिक ३४२ किलोलिटर इन्धन उत्पादन हुन सक्छ । त्यो भनेको तीन लाख ४२ हजार लिटर बराबर हो ।
उनका अनुसार प्लास्टिकको प्रशोधनबाट उत्पादन हुने इन्धनमा पेट्रोल, डिजेल र मट्टीतेल तीनवटै हुन्छ । यसबाट वातावरण पनि सफा हुन्छ । घरमै इन्धन उत्पादन हुन्छ र विदेशी मुद्राको सञ्चिति पनि हुन जान्छ ।
प्रतिक्रिया