सांसद राईको प्रश्न – चक्रपथबाट बानेश्वरको गाडी भाडा कति हो ?


राष्ट्रिय सभा सदस्य जयन्ती देवी राईले सार्वजनिक यातायातले मनपरी भाडा लिएर आफूलगायत सर्वसाधारण ठगिए पनि नियमन नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।

बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद राईले आफू दैनिक नेपाल यातायात चढेर संसद आउने जाने गरेको भन्दै त्यसरी यात्रा गर्दा मनपरी भाडा असुल्ने गरेको गुनासो गरिन् ।

उनले पेट्रोलियम पदार्थको मुल्य बढ्दा गाडी भाडा बढ्नु स्वभाविक भएपनि भाडा मनपरी लिने गरेको बताइन् । ‘यहाँ त मनपरी भाडा लिने गरिएको छ । म आफैले भोगेको कुरा भन्छु । म नेपाल यातायात चढेर आउँछु, चक्रपथबाट यहाँ बानेश्वर आउँदा कुनै गाडीले ३० रुपैयाँ लिएको छ, कुनैले २५ रुपैयाँ लिएको छ’, राईको गुनासो छ ।

गाडी भाडा २३ रुपैयाँ हुँदा पनि अनिवार्य २५ तिर्नुपरेको सांसद राईको गुनासो छ । ‘चेन्ज छैन भनेर २५ रुपैयाँ अनिवार्य तिराउने । मैले नै एक दिनमा ६ रुपैयाँ बढी तिर्छु भने दैनिक हजारौ यात्रुबाट कति रुपैयाँ असुल हुदैछ ?’, सांसद राईको प्रश्न छ ।