वायुसेवा निगमको मानव संशाधन विभाग तोडफोड


नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी अदालतको अन्तरिम आदेश लिएर कार्यालय हाजिर भएकै दिन कर्मचारीले मानव संशाधन विभाग तोडफोड गरेका छन् ।

कर्मचारी पदपूर्ति रोकेको र लोकसेवाको सहमति लिएर तत्काल अगाडि बढाउनुपर्ने भन्दै कर्मचारीले निगमको मानव संशाधन विभागमा शुक्रवार तोडफोड गरेका हुन् ।

निगमको नेतृत्व छिटोछिटो परिवर्तन हुँदा काम हुन नसकेको र कर्मचारी नियुक्ति प्रक्रियामा ढिलाइ भएको भन्दै दबाब दिन गएका कर्मचारीले तोडफोड गरेको निगमका एक उच्च अधिकारीले लोकान्तरलाई बताए ।

निगमकी प्रवक्ता अर्चना खड्काले भने आफू बैठकमा रहेकोले पछि सम्पर्क गर्न भन्दै पन्छिइन् । उनले कर्मचारीले के विषयमा असन्तुष्टि जनाएका भन्ने विषय आफू बैठकमा भएकाले जानकारीमा नआएको पनि बताइन् ।

निगमका अध्यक्ष अधिकारीलाई बिहीवार मात्रै सर्वोच्च अदालतले नियमित काममा फर्कन दिन अन्तरकालीन अन्तरिम आदेश दिएको छ । उनलाई सरकारले ६ असारमा बर्खास्त गरेको थियो ।

कार्यकारी अध्यक्ष अधिकारीलाई हटाएर सरकारले निगमका वरिष्ठ क्याप्टेन दीपुराज ज्वारचनलाई महाप्रबन्धक बनाएको थियो ।