चुरोट छाड्न किन गाह्रो हुन्छ ?


‘धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ ।’

हरेक चुरोटको प्याकेटमा यस्तै चेतावनी दिइएको हुन्छ । त्यति मात्र होइन, चुरोटको सर्कोले ध्वस्त भइसकेको फोक्सोको डरलाग्दो तस्वीर पनि राखिएको हुन्छ । यद्यपि ‘खाने मुखलाई जुँगाले छेक्दैन’ भनेझैं चुरोट खानेहरु यस्ता चेतावनी देखेर पनि आफ्नो लत छाड्दैनन् । किन ?

एक तथ्यांकले भन्छ, विश्वभर करिब एक अर्ब मान्छेले धुम्रपान गर्छन् । यत्तिका मान्छेलाई पक्कै पनि थाहा होला कि चुरोटको धुँवाले स्वास्थ्यलाई राम्रो गर्दैन । किनकि चुरोटको हरेक सर्कोले फोक्सो र श्वासप्रश्वास प्रणालीलाई नराम्रो असर गर्छ ।

धुम्रपानको कारण वर्षमा ६० लाख मान्छेले ज्यान गुमाउने गरेको तथ्यांक छ । बीबीसीको एक रिपोर्ट अनुसार सन् २०३० सम्म यो संख्या बढेर ८० लाखसम्म पुग्ने अनुमान गरिएको छ ।

जगजाहेर नै छ, चुरोटको धुवाँले छाती र फोक्सोमा असर गर्छ । यद्यपि यसको भयले चुरोट छाड्नेहरु सायदै होलान् । बरु चुरोट खानेहरुको संख्या प्रतिदिन बढ्दो छ । अहिले विद्यालय तथा कलेज पढ्नेहरु समेत चुरोटको अम्मली बनिसकेका छन् । आखिर किन मान्छे धुँवाको लतमा पर्छन् ? किन यसको अम्मली बन्छन् ? र किन चुरोट छाड्नै सक्दैनन् ?

यी प्रश्नहरुको जवाफ खोज्नुअघि चुरोटले कसरी फोक्सोलाई ध्वस्त बनाउँछ ? यसतर्फ लागौं ।

छाती तथा श्वासप्रश्वास रोग विशेषज्ञ डा. अशेष ढुंगाना भन्छन्, ‘चुरोटको धुँवाले सोझै फोक्सो एवं श्वासप्रश्वास प्रणालीमा असर गर्छ । फोक्सोको क्यान्सरमा धुम्रपान नै जिम्मेवार छ ।’

चुरोटमा निकोटिन भन्ने तत्व हुन्छ, जुन धुँवाको माध्यमबाट फोक्सोको कुनाकाप्चा पुग्छ । त्यो रसायन फोक्सोको विभिन्न भागमा थेग्रिंदै एवं जम्मा हुँदै जान्छ ।

‘फोक्सोको काम अक्सिजन लिने र कार्बनडाइअक्साइड बाहिर निकाल्ने हो । तर धुम्रपान गर्न थालेपछि फोक्सोले सही रुपमा काम गर्न सक्दैन,’ डा. ढुंगाना भन्छन्, ‘यसरी फोक्सोले आफ्नो कार्यक्षमता गुमाउँदै जान्छ र कमजोर हुन्छ । अनि हामीले सास लिंदा हावासँगै विभिन्न किटाणु फोक्सोसम्म पुग्छ ।’

चुरोट सेवन गरिरहँदा त्यसले फोक्सोलाई मात्र नभई अन्य किसिमको समस्या पनि निम्त्याउने गर्छ । निमोनिया, दम, टीबी र क्यान्सरको जोखिम बढाइदिन्छ ।

किन चुरोटको लत छुटाउन गाह्रो ?

चुरोटले स्वास्थ्यमा कति भयानक हानी गर्छ भन्ने थाहा हुँदाहुँदै पनि मान्छेले यसको लत छाड्दैनन् । किन त ?

चुरोटमा हुने निकोटिन नामक तत्त्वले गर्दा मानिसहरूलाई यसको लत लाग्ने वरिष्ठ न्युरोलोजिष्ट डा. लेखजंग थापा बताउँछन् । ‘चुरोटमा भएको त्यो निकोटिन दिमागको नसासम्म पुग्छ र त्यसलाई दिमागको नसाले राम्रो तत्त्व भनेर लिन्छ जसले गर्दा यसको लत नै बस्छ र खाउँखाउँ लाग्छ ।’

‘द स्मोक फ्रि फर्मुला’ नामक पुस्तकका लेखक स्वास्थ्य मनोवैज्ञानिक प्रोफेसर रोबर्ट वेस्टले बीबीसी रिपोर्टमा भनेका छन्, ‘चुरोटमा पाइने निकोटिनको लत हेरोइन, कोकेन तथा अफिम जस्ता अन्य कुनै नसाको लत जस्तै हो ।’

निकोटिनको लतलाई मस्तिष्कको ‘एनिमल पार्ट’ भनिने भागबाट नियन्त्रण गर्न सकिने उनको भनाइ छ । रोबर्ट भन्छन्, ‘चुरोटको कुलतलाई जित्नु भनेको युद्ध जित्नु जस्तै हो ।’  रोबर्टका अनुसार वंशानुगत कारण पनि चुरोट तथा अन्य नशालु पदार्थ सेवनको लत लाग्ने गरेको हुन सक्छ । तर सबैमा यो लागु भने हुँदैन ।

चुरोट सेवनले कसैमा पनि प्रतिरोधात्मक क्षमता कायम राख्दैन । रोबर्टका अनुसार पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामाले लामो समय धुम्रपान गरेका थिए । पछि स्वास्थ्यमा समस्या आएपछि उनले ‘निकोटिन थेरापी’ लिएका थिए । मस्तिष्कले निकोटिनलाई कसरी प्रतिक्रिया दिन्छ भन्ने कुरा महत्वपूर्ण भएको भन्दै धुम्रपानको बौद्धिकतासँग कुनै मतलब नभएको उनको भनाइ छ ।

स्वास्थ्य मनोवैज्ञानिक डा. इल्डीको टोम्बोरका अनुसार अधिकांशले २६ वर्ष पहिले नै धुम्रपान सेवन गर्ने गरेको पाइन्छ । ‘धुम्रपान एक ‘सोसल पासपोर्ट’ जस्तै हो । धुम्रपानलाई राम्रो नजरबाट हेर्नेहरु यसले सामाजिक र करिअरमा फाइदा पुग्ने सोच्छन् । यस्तालाई धुम्रपान छाड्न निकै गाह्रो हुन्छ,’ उनी भन्छन् ।