राष्ट्रिय अनुसन्धान विभागमा तीन महिनादेखि रिक्त अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पदमा कुलदेव थापा बढुवा भएका छन् । शुक्रबार बसेकोे मन्त्रिपरिषद् बैठकले थापालाई मुलुकको गुप्तचरी निकाय राअविको दोस्रो वरियताको पद अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमा बढुवा गरेको हो ।
थापा हाल गुप्तचरका लागि गण्डकी प्रदेश प्रमुखका रुपमा कार्यरत थिए । एआईजी सरहको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पदका लागि अनुसन्धान निर्देशक हुतराज थापा, हरिहर पौडेल, ओम जोशी र सुनिल ढकाल प्रतिष्पर्धामा थिए । उनीहरु १४ भदौ २०७४ मा अनुसन्धान निर्देशक पदमा बढुवा भएका थिए ।
सरकारले दोस्रो नम्बर वरियतामा रहेका थापालाई मुख्य अनुसन्धान निर्देशकमा बढुवा गरेको हो । हाल मुख्य अनुसन्धान निर्देशकमा बढुवा भएपनि उनले ५८ वर्षे उमेर हदका कारण साउन ४ गते अवकाश पाउनेछन् । राअविका हालका मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेलले २३ भदौबाट अवकाश पाउँदैछन् ।
राअवि स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयका प्रकाश देउवा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गुप्तचर हेर्ने जिम्मेवारी पाएका सचिव लक्ष्मण अर्यालले उनलाई ६ दिनका लागि पनि अतिरिक्त मुख्य अनुसन्धान निर्देशक बनाउन लबइङ गरेका थिए ।
प्रतिक्रिया