महाराजगञ्जस्थित नासा ह्युमन रिसोर्सेस (म्यानपावर कम्पनी) मा युट्युबर लिएर गई हुलहुज्जत गर्ने दुई जना पक्राउ परेका छन् । आफूलाई बिगेस्ट म्यानपावरको एजेन्ट बताउने इलामका ३० वर्षीय सुरेनकुमार योङ्गहाङ्ग र उदयपुरका ३२ वर्षीय प्रकाश तामाङलाई गत शनिबार प्रहरी वृत्त महाराजगञ्जले काठमाडौंबाट पक्राउ गरेको हो ।
उनीहरूविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दा चलाइएको छ । जिल्ला अदालत काठमाडौंबाट साउन ५ गतेसम्म म्याद थपको अनुमति लिएर उनीहरूमाथि अनुसन्धान भइरहेको महाराजगञ्ज प्रहरीले जनाएको छ ।
गत जेठ १५ गते महाराजगञ्जमा रहेको नासा ह्युमेन रिसोर्सेज प्रालिभित्र छिरेर तोडफोड तथा दुर्व्यवहार गरेको भन्दै सञ्चालक युवराज गुरुङले युट्युबर कुशल खत्रीसहित चार जनाविरुद्ध उजुरी दिएका थिए । अन्य दुई जना समातिएका छैनन् ।
क्राइम टीभी च्यानलका युट्युबर पोखरा लामाचौरका कुशल खत्री र आफूलाई म्यानपावर पीडित युवाहरूको प्रतिनिधि बताउने सुर्खेत दशरथपुरका रत्नबहादुर अधिकारीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
१५ जेठमा युट्युबरसहितको समूहले आफ्नो कार्यकक्षभित्र तोडफोड तथा दुर्व्यवहार गरेको विषयमा सञ्चालक गुरुङले सीसीटीभी फुटेजसहित उजुरी दिएका थिए ।
घटनाको केही दिनपछि क्राइम टीभी युट्युबका सञ्चालक खत्रीले आफ्नो चरित्र हत्या हुनेगरी भिडियो सम्पादन गरी प्रशारण गरेको गुरुङले बताए ।
यसबारे उनले प्रेस काउन्सिल नेपाल, सूचना विभाग र पत्रकार महासंघमा समेत जानकारी गराएका थिए । समाचारको विषयमा काउन्सिलले अनुसन्धान गरिरहेको भए पनि तोडफोड र दुर्व्यवहारमा प्रहरीले आरोपीलाई पक्राउ गरेको हो ।
प्रतिक्रिया