नेपाल प्रहरीका एआईजी पोखरेलले दिए राजीनामा


नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक एआईजी विश्वराज पोखरेलले पदबाट राजीनामा दिएका छन् । सोमबार दिउँसो प्रहरी प्रधान कार्यालय पुगेर एआईजी पूजा सिंहमार्फत पोखरेलले महानिरीक्षक धीरजप्रताप सिंहसमक्ष राजीनामा पत्र बुझाएर बाहिरिएका हुन् ।

महानिरीक्षक सिंहले पोखरेलको राजीनामा गृह मन्त्रालयमा पेस गर्नुपर्ने छ । राजीनामा पत्र मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि मात्रै लागू हुने छ ।

आफूभन्दा करिब डेढ वर्ष कनिष्ठ एआईजी सिंहलाई महानिरीक्षकमा नियुक्त गरेको भन्दै पोखरेल आइजीपी बढुवा बदरको माग गर्दै सर्वोच्च अदालत पुगेका थिए ।

तर सर्वोच्चले पोखरेलसहित महानिरीक्षकका विषयमा परेका सबै रिट एकचौटि खारेज गरेको थियो । आफूले हालेको रिट खारेजपछि पोखरेलले पदबाट राजीनामा दिएका हुन् । सिंह महानिरीक्षक भएपछि कार्यालय नटेकी उनी सेवाबाट बिदा भएका छन् ।