मुटु रोग लाग्न नदिन के गर्ने ?


सामान्यत : मुटु रोगलाई दुई भागमा विभाजन गर्न सकिन्छ । एक जन्मजात र अर्को जीवन जिउँने क्रममा लाग्ने । जन्मदैं बच्चामा मुटुमा प्वाल तथा केही जटीलता देखा पर्न सक्छन् भने खानपान तथा शारीरिक अभ्यासको कमीले पनि मुटु रोग लाग्न सक्छ ।

खानपानको कुरा गर्दा बाबुबाजेले खाने खान्कीसंग पनि दाँज्ने गरिन्छ । हाम्रो बाबुबाजेले एक थाल भात र एक माना घिउ खान्थे । खेतबारीमा काम गर्थे । त्यसैले त्यस्तो किसिमको खाना पनि पच्थ्यो । आज  पनि मानिसहरु त्यही खान्छन् ।

तर, शारीरिक अभ्यास हुँदैंन, श्रम हुँदैंन । यसले गर्दा शरीरमा क्यालोरी जम्मा हुने भयो । बोसो जम्मा हुँदा कोलेस्टेरोल बढ्ने र कालान्तरमा नसा तथा मुटुसम्बन्धी रोग लाग्छन् ।
मुटु रोगको अर्को कारक तनाव पनि हो । आज शहरी जीवनले प्रतिस्पर्धाको जिन्दगी छ । हिजो खेतबारीको काम समयअनुसार गरिन्थ्यो । बाली भित्र्याइन्थ्यो र खाइन्थ्यो । तर आज मानिस–मानिसबीच प्रतिस्पर्धा छ । कसले कति कमाउने, कसले कुन पद खाने भन्ने प्रतिस्पर्धा चलिरहेको छ । रातदिन दौडधुप हुन्छ ।

तनावयुक्त जीवनका कारण हाम्रो स्नायुप्रणालीमा समस्या ल्याएको छ । त्यो भईसके पछि कार्डियोभास्कुलर सिस्टम (मुटु र नसासम्बन्धी) समस्या ल्याउछ । वयस्कमा मुटु रोगको समस्या आउनुको एकै कारण हो खानपानको गडबडी, शारीरिक व्यायामको अभाव  र तनावयुक्त जीवन । धुमपानको बढी प्रयोग गर्ने, चिल्लो खाना खाने, रातो मासु धेरै खानेलाई पनि कार्डियोभास्कुलर समस्या देखिन्छ ।

कहिलेकाही रक्तचाप एकैपटक बढ्ने हुन्छ । यस्तो अवस्थामा तत्काल औषधि सेवन गरिहाल्नु हुँदैंन । एक हप्तासम्म बिहान र बेलुका नियमित रुपमा रक्तचाप हेर्नुपर्छ । त्यतिमात्र होइन कोलेस्टेरोलको मात्रा, मिर्गौलाको अवस्था ठीक छ, छैन जाँच गर्नुपर्छ । इसिजी गरेर हेर्दा मुटुमा समस्या देखिएमात्र औषधि चलाउनुपर्छ । तर, कहिलेकाही एकैपटकमा औषधि चलाउनुपर्ने अवस्था पनि आउन सक्छ । जस्तै कोहीको २००/१२० वा १८०/१०० छ भने दिनुपर्छ ।

मुटुको समस्या निम्तन नदिन सबैभन्दा पहिले तनावबाट अलग रहनुपर्छ । जीवनलाई तनावमुक्त र चिन्तामुक्त बनाउन सजिलो त छैन । तर दैनिकीमा सुधार ल्याउनुपर्छ । बेलुका छिटो सुत्ने र बिहान चाँडो उठ्ने गर्नुपर्छ । राति ११/१२ बजे गर्ने काम बिहान सबेरै उठेर गर्ने बानी बसाल्नुहोस् । रातभरि सोचेर नबस्नुहोस । सोच्ने काम बिहानलाई बाँकी राख्नुहोस् ।

प्राकृतिक नियमलाई नतोडौं । यसले गर्दा कार्डियोभास्कुलर सिस्टमलाई असर पार्न सक्छ । जुन पेशामा हुनुहुन्छ, पेशामा हुने चिन्तालाई कम गर्नुहोस् । निरन्तर व्यायाम गर्ने बानी बसाल्नुहोस् । यसले राति राम्रोसँग निन्द्रा पर्छ । राम्रोसँग सुत्नु भनेको चिन्ता कम गर्नु हो । शरीरमा थप क्यालोरी बढ्न नदिन चिल्लो खाना कम गर्नैपर्छ । चिल्लो वा बोसोबाट मात्र नभई कार्बोहाइड्रेट बढी भएको खानेकुराबाट पनि चिल्लो जम्मा भएर बस्छ । चिल्लो भनेको रोग हो । खाना खाएपछि अभ्यास गर्नुपर्छ । शारीरिक अभ्यास भयो भने कति खानुभयो भने त्यसको मतलब हुँदैंन ।

नसा तथा मुटुसंबन्धी रोग भएकाले रातो मासु नखाँदा नै राम्रो हुन्छ । बरु माछा र कुखुराको मासुले त्यति हानी गर्दैन । मानिसलाई दैनिक दुई हजार क्यालोरी आवश्यक आवश्यक हुन्छ । यसका लागि सबै प्रकारका भिटामिन र आइरन मिलाएर खानुपर्छ । भात, आलु, चिल्लो हुने खाना कम खानुपर्छ ।  शारीरिक अभ्यासन बिहान बेलुका मात्र गर्नुपर्छ भन्ने छैन । तपाईलाई जतिबेला फुर्सद हुन्छ, त्यतिबेला गर्दा हुन्छ । दिउँसो अभ्यास गर्दा पनि उत्ति नै फाइदा हुन्छ, जति बिहान बेलुका गर्दा हुन्छ । अभ्यासको उद्देश्य कोलेस्टेरोल र चिल्लोलाई कम गर्नु हो।

एक प्रतिशत मानिसमा जन्मजात मुटुको रोग लागेको हुन्छ । संख्यामा केही तलमाथि हुन सक्छ । जन्मजात रुपमा मुटुमा प्वाल पर्ने समस्या बढी हुन्छ । आर्टियल सेप्टल डिजिज (एएसडी), भेन्ट्रिकुलर सेप्टल डिजिज (भीएसडी), टेट्रालोजी अफ फार्लो(टीओएफ) जस्ता समस्या देखिन्छन् । खानपान र बानीव्यवहारका कारण लाग्ने रोगमा ¥युमाटिक हार्ट डिजिज बढी हुन्छन् । यसले भल्भहरु खराब गर्छन् ।

टन्सिल पनि समयमै निको भएन भने मुटु रोग लाग्न सक्छ । ‘स्टिेटस फोकस’ भन्ने किटाणुले टन्सिलमा आक्रमण गर्छन् र र्फैलिदै जादा मुटु र भल्भमा पनि आक्रमण गर्छन् । यस्तो अवस्थामा भल्भको मर्मत वा फेर्ने गरिन्छ ।