पार्टी प्रवेश गर्ने रविको प्रस्तावमा अभिनेत्री नीताले भनिन् -अहिलेसम्म कन्फर्म भएको छैन, हामी सल्लाहमै छौं


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कलाकार जोडी नीता ढुंगाना र हरिहर अधिकारीलाई आफ्नो पार्टी प्रवेश गर्न आग्रह गरेका छन् । शनिबार राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा भएको छलफलमा लामिछानेले नीता र हरिहरलाई पार्टी प्रवेश गर्न प्रस्ताव राखेका हुन् । अभिनेत्री नीताले लामिछानेले दल प्रवेश गर्न आफूहरुलाई प्रस्ताव गरेको बताइन् ।

‘हामी छलफलमा बसेका हौं । प्रस्ताव आएको हो उहाँबाट । सबैले पत्याउने खालका मान्छेहरु हामीलाई चाहिएको छ । अब युवाहरु आउनुपर्‍यो भन्ने हिसाबको रवि दाइको कुरा भयो,’ छलफलबारे नीताले भनिन्, ‘ती कुरालाई सकारात्मक हिसाबले सोचिराख्या छौं । छलफलमा छौं । अहिलेसम्म कन्फर्म भएको छैन । हामी सल्लाहमै छौं ।’

स्रोतका अनुसार उक्त छलफलमा काठमाडौंको कुनै संसदीय निर्वाचन क्षेत्रबाट पार्टीको उम्मेदवार बन्न रविले हरिहरलाई प्रस्ताव गरेका थिए ।